कविता : म कसरी अछुत ?

Min babli kabita

लाग्छ तिम्रा आँखामा कालो पट्टी छ
देखेर नदेख जस्तै गर्छौ
जानेर अञ्जन बनेका छौ
बिचरा तिमी र तिम्रो चरित्र
देखेर दया लाग्छ
तिमी नाङ्गै हिड्दा
मैले लाज ढाकि दिन्छु
तिमी खालि पाउ हिड्दा
मैले जुत्ता बनाई दिन्छु
यदि मैले पाखुरा खियाउन
विश्राम गर्यो भने तिमी भोकै बस्छौं
अनि
म कसरी अछुत ?

 

तिमी धर्मका कुरा गर्छौ
तिम्रो आस्थाको दियो मैले आरनमा
घन ठोकी ठोकी बनाएको हो
तिम्रो भगवान बस्ने देउता बस्ने
ढुङ्गाको मन्दिर मैले बनाएको हुँ
तिम्रो भगवान् र देउता पनि
यिनै अछुत कहिलिएका हाते बनाएको हुँ
जहाँ हरेक दिन हरेक विहान
जिन्दगीले देख्ने हरेक सपनाका
भिख मागिरहन्छौ
म कसरी अछुत ?

 

लाग्छ तिमीलाई देखेर
विज्ञानले पनि खिसी काट्दो हो
जस्तो आविस्कार र सृजना
कोमल हातहरुले गरे उसैलाई
तिम्रा नामर्द पुर्खादेखि अहिलेसम्म
अछुत भनेर जप्दै आए
अब तिम्रो मस्तिष्कको
सल्यक्रिया गर्न कति समय लाग्छ
म कसरी अछुत ?

 

यो समुदायमा जे जे कुराको
तिमी घमण्ड गर्छौ
जे जे कुरामा तिम्रो आस्था भरोसा छ
जे जे नभई तिम्रो घर चल्दैन
चुलो बल्दैन, पेट भरिँदैन, लाज ढाकिँदैन
ती सबै सबै कुराको म सृजना गर्ने
विज्ञान हुँ
म कसरी अछुत ?

 

तिमी यत्तिसम्म भम्रमा छौ
तिम्रो नोहारन म नभई हुँदैन
तिम्रो बिबाह म नभई हुँदैन
तिमी जसलाई दुलही भनेर
भित्र्याउन लागिरहेका छौ
ती सुन्दरीलाई तिमीले छुन पहिले
मैले छोएर श्रृङ्गार गरेको हुँ
तिम्री दुलहीले लगाए भित्री बस्त्र
पनि मैले मेरो अछुत घरमा
कथित अछुत हातहरुले सिलाए हुँ
अझै बुझेनौ
तिमी मर्दा तिम्रो सालको नाप लिएर
सेतो कात्रो पनि मैले सिलाउनुपर्छ
भन अब
म कसरी अछुत ?

अछाम

प्रतिकृया दिनुहोस