कविता : कथा जीन्दगीको

Khemraj rauteda

गाउँवाट थोरै पर
मनबाट धेरै नजिक
हजुर बा, हजुरबाहरूका पनि हजुरबाले,
पसिना बगाउँदै आएको अक्करे इजर
बा का लागि पनि पसिना बगाउने थलो बनेको थियो !

त्यही इजरको पसिना बेचेर
बाले, दशैंमा किनेको एकथान गाबुन
आमालाई कपडा र मलाई विछ्यौना थियो !
पुसको कठ्याग्रिदो जाडोमा
बाँसका चोयाहरूको पुरानो मान्द्रो
मेरी आमाका लागि मखमलको ओछ्यान थियो
महंगो सोफा थियो
र उही एकफाल्को गाबुन
उनलाई कपडा र मलाई कोरियन कम्मल थियो ।

यसरी आमाको गाबुनभित्र लड्बडिएर
हुर्केको मैले एका बिहानै, बालाई
जन्म दिनको उपहार, कलम मागेको थिएँ
की बा का ठेला उठेका हात र
आमाका फाँटेका पैतालाहरूको एक सुन्दर चित्र कोर्न सकु !

बा ले गिट्टी कुटेर कमाएको पच्चिस रूपैयाँ
साहु बा ले, मलाई कलमदिएर कटाएपछि
आँखामा आँसु राखेर मुस्कुराउनु भएको थियो बा
र आशिर्वाद दिनु भएको थियो
छोरा !
यो कलमले मेरो श्रम तिम्रा शब्दद्वारा व्यक्त गरोस् ।

खोला किनारका दुधे ढुंगाहरू चक बनाएर
लालीगुराँस फूलको रस मसि बनाएर
निंगालोको टुप्पोको कलम बनाएर
अक्षर कोर्ने म
खुसीले गदगद भएको थिएँ
जुन दिन मेरा बा को श्रमको मुल्यले, मलाई कलम दिएको थियो ।

मलाइ औधी प्यारो छ,
त्यो कलम जसमा मेरा बा को पसिनाको गन्ध लुकेको थियो
यसरी साक्षर भएको म
साक्षरता अभियानमा प्रौढ शिक्षक हुँदा
मेरा प्रौढ विद्यार्थी भए तिनै साहु बा
साहु बा को आँखाभरी आसु थियो
तर उहाँ अगाडी नै आँसु खसाले मेरा आँखाले ।

आज साहु बा साहु बा रहनु भएन
गाउँ जाँदा सधैँ साहु बा लाई भेट्छु
उहाँ मेरो धन्यवादको पात्र हो की
उहाँले दिएको कलमले
वर्षौदेखिको उहाँको सामन्ती प्रवृतीलाई बिर्साइ दिएको छ
र लेखिरहेका छन् यी औलाहरूले तीनै बा हरूका कथा
जसले लेखन सुरू गरेका थिए
तिनै साहु बा को पच्चिँस रूपैयाको कलमबाट
जो मेरा बा को पसिनाको मूल्य थियो ।

आदर्श –३ डोटी
हाल : काठमाडौं ।

प्रतिकृया दिनुहोस