जातीय भेदभाव : जातीय पीडा ओकलेको गीत हो (भिडियोसहित)

Jatiya bived songs

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीकी शुष्मा मल्ल पीडक पात्र हुन्, जो अहिले बाल सुधार गृहमा छिन् । उनी जाजरकोट खलंगाका नवराज विकसँगको प्रेम सम्बन्धका कारण विवादमा परिन् । उनीसँगको प्रेम सम्बन्धकै कारण २०७७ साल जेठ १० गते नवराज विकसहित ६ जनाले अनाहकमै ज्यान गुमाए ।

नवराजहरुले ज्यान गुमाएपछि देशभरका दलित समुदाय ताते । तर, तातेन राज्य । राज्य औपचारिकतामा खुम्चियो । अनि सुरु भयो आन्दोलन । देशभर स्वतःस्फुर्त रुपमा तातेको आन्दोलनले सबै राजनीति पार्टीका दलित संघ संगठनहरुलाई एक ठाउँमा ल्याइदियो । कोठे कार्यक्रम हुँदै सडक र सदनसम्मै नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलन भयो । सडकमा चर्का चर्का नारा पनि लागे । सत्ता पक्ष बाहेकका सबै दलहरुका नेताहरु सडकमा आएर आन्दोलनप्रति ऐक्यवद्धता जनाए ।

अरु सरह अधिकार दिलाई देउ
विभेद अन्त्यको व्यवस्था मिलाई देउ ।

यी माथिको शब्द सडकमा लागेको नारासँग मेल खान्छ । नजराजसहितका अवोध युवाहरुको कुटीकसटी गरिएको हत्यामा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित शुष्मा मल्लकी आमा प्रकाशी मल्लसमेत संलग्नताको विरोधमा सडकमा आक्रोस पोखियो । सरकारविरोधी नारा घन्किए । लकडाउनले आन्दोलन रोकिएन । निषेधित क्षेत्रसमेत तोड्न बेर लागेन ।

यही विषयलाई गीतमा बदले सञ्चारकर्मी प्रकाश बराइली ‘अभिब्यक्ती’ ले । बराइलीले नै माथि उल्लेखित शब्द आन्दोलनलाई सुहाउँदो गरी कोरे । संगीतवद्ध गरे संगीतकार रमेश बिक्रम रत्नले । अनि स्वर दिए उनै गीतकार प्रकाश बराइली ‘अभिब्यक्ती’ र विन्दु विसीले । ‘जातीय भेदभाव’ बोलको गीतको म्युजिक भिडियो पनि बन्यो । जसलाई बराइलीले नै निर्देशन गरेका छन् भने राम सिंह भाटको सम्पादन गरेका छन् भने राजु रिजालको सहछायांकन छ ।

उक्त गीतको भिडियोमा शिब बिक, दिपाशा बिसी, चन्द्र शर्मा, शंकर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टिका भुजेल, प्रकाश बराइली ‘अभिब्यक्ती’, ध्रुब हिमाली, निर आले मगर, राजकुमार रायमाझी, राजु रिजाल, रिना थापा मगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, बर्षा शिलवाल, उषा सुबेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आईसा राई आदीको अभिनय रहेको छ ।

न्याय पाउन दलितहरु जुट
संसारमै कोही छैन अछूत ।

सरसर्ती गीत सुन्दा आनन्द आउँदैन । तर, गीतको भिडियोमा समावेश दृष्यले भने जातीय भेदभावका विरुद्ध फेरि जुरुक्क उठुँउठुँ लाग्छ । विभिन्न चरणमा भइरहेका आन्दोलनका दृष्य देख्दा लाग्छ, आफ्नो अधिकारका लागि फेरि पनि सिंगो दलित समुदाय एकजुट भएर लाग्न जरुरी छ । राजनीतिक विचार वा वादबाट माथि उठेर समुदायको अधिकारका लागि एक जुट हुन गीतले आव्ह्वान गर्छ ।

जयस्थिती मल्लको सुरुवात
त्यसैपछि फिजियो जात र भात ।

शदिऔंदेखि सामाजिक रुपमा जातीय विभेदले हालसम्म जरा गाडिरहेको छ । हाल २१औं शताब्दीसम्म आइपुग्दा पनि दलित समुदायले हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्या, हिंसा लगायत अन्य जघन्य अपराधहरु भोग्दै आएका छन् । जयस्थिती मल्लको पालादेखि सुरु भएको मानिएको जातीय भेदभाव र छूवाछूतको अहिलसम्म कायम रहँदा सिंहदरवारले देखेको छैन । बालुवाटारले कहिले अनुभुती गरेको छैन । जसका कारण दलित समुदायले अझैं हामीलाई अधिकार देउ भनेर कुर्लिनुपरेको छ । सडकमा उत्रिनुपरेको छ ।

सानो ठूलो कुन शास्त्रमा लेख्या छ
जन्म मृत्यु कसले पो देख्या छ ।

गीतले भनेजस्तै कुनै पनि शास्त्रले जातीय विभेद गर भन्दैन । तर, कथित उच्च जाति भनाउँदाहरुले आफुलाई स्वघोषित ठूलो जात मान्ने गर्छन् । अरुलाई सानो जात मानेर हेला हिंसा गर्ने गर्छन् । त्यही कारण पनि कोरोना संक्रमणको उच्च जोखिमकै बेला पनि दलितहरुमाथि क्वारेनटाईनमा छुवाछूत गरिएको छ । क्वारेनटाईनमा दलित महिलामाथि बलात्कार गरिएको छ । लकडाउनकै बेला राजु सदा, सम्भु सदा, अंगीरा प्यासी लगायतले ज्यान गुमाउनुपरेको छ ।

त्यहिँ पीडा प्रस्तुत गरिएको छ ‘जातीय भेदभाव’ मा । आन्दोलनको रापबाटै अधिकार स्थापित गर्न सकिन्छ भन्ने सन्देश गीतमा दिइएको छ । यो सत्यपरक गीत हो । जसलाई सबैले मन पराउँछन् भन्ने छैन । यो गीत राम्रो भएर पनि धेरै कलाकारहरुलाई पर्दामा उतारिएको छ । जसलाई दर्शकले सजिलै बुझ्न सक्दैनन् । तथापि गीतले दिन खोजेको सन्देश भने जायज छ । यस गीतको भिडियोमा धेरै समुदायका कलाकारहरुलाई समेट्ने प्रयास गरिएको छ । जातीय भेदभाव गर्नु मानवीय अपराध हो, मानव–मानवबीच सदभाव कायम हुनुपर्छ भन्नेमा धेरै कलाकारको तर्क छ । त्यसकारण पनि यो गीतले धेरै अर्थ र महत्व बोकेको छ ।

बढाऔं अब एकताको नारा
बढाउनु छ आत्मीय भाइचारा ।

यो गीतको मुख्य सन्देश नै छुवाछूतको अन्त्य हो । जातीय सदभाव कायम गर्ने हो । मानिस मानिसबीच समान बन्नुपर्छ भन्ने हो । यो गीत समग्रमा राम्रो बनेको छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...