‘गीतकारलाई कसैले सुन्छन्, बुझ्छन् र साथ दिन्छन्’

Omnath kadariya final

काठमाडौं । 

छोप्नु पर्ने चोटहरु बाहिर हाँसी खुसी भई 
उभिनु नि पर्ने कहिले बिना कसुर दोषी भई ।

माथिका यी हरफहरु स्वरुपराज आचार्यको आवाजमा गुञ्जिएका छन्, जसले जीवनको उतार—चढाव, संयोग–वियोग र सुख–दुःखलाई प्रतिनिधित्व गर्छन् ।

जिउँदै मरेर पनि हाँसेर जिउनुपर्ने
जिउनलाई कहिलेकाँही त विष पनि पिउनुपर्ने ।

यो जीवन भोगाईको अर्काे पाटो हो । हरेक मानिसको जीवनसँग मेल खान्छ यी माथिका शब्दले । जीवन जिउन आइपर्ने समस्या र यसले सिर्जना गर्ने तरंगलाई तरंगित गरेको छ । जसलाई स्वरुपराज आचार्यले नै आवाज दिएका छन् ।

सुन्नेले स्वर नै सुन्ने हो । यसका सर्जक अर्थात् गीतकारलाई कसैले सुन्छन्, बुझ्छन् र साथ दिन्छन् । शब्द आफैंमा ओझिलो संगीत हो । शब्दले नै संगीतको सुर ताल खाका बनाइदिन्छ । तथापि गीतकारलाई स्रोताले सधैं अन्याय गरिरहेका हुन्छन् । त्यही अन्याय चुपचाप भोगिरहेका छन् ओमनाथ कडरिया पनि ।

पूर्वी नेपालको झापाली गीतकार नेपाली गीत संगीत क्षेत्रको राम्रो सम्भावना बोकेको भए पनि उनी ओझेलमै छन् । सानै उमेरदेखि गीतप्रति रुची राख्ने कडरिया झापाली गीतकारको रुपमा उदाउने क्रममा छन् ।

अहिलेसम्म उनले वियोगको अनुभव भने बटुलेका छैनन् । तर, पूर्वेली स्रष्टा कडरिया सबै प्रकारका विधामा कलम चलाउने उनी वियोगान्त गीतहरु लेख्नुमा छुट्टै आनन्द र मज्जा आउने बताउँछन् । रुची आ–आफ्नै भए पनि लोकगीत, राष्ट्रिय गीत, पप, रक र दोहोरी सबै गीतलाई मन भने उनी पराउँछन् र सबैलाई समान रुपमा सम्मान पनि गर्छन् ।

ओझेलमा गीतकार
उनी नयाँ गीतकार पनि होइनन् । तर, उनी सांगीतिक क्षेत्रमा नयाँ गीतकार झै लाग्छ । उनका ३० भन्दा बढी गीतहरु विभिन्न रेकर्ड भएका छन् । शीर्षक एल्बममा रहेका ८ वटा गीतमध्ये दुईवटा गीतको शब्द उनले नै कोरेका हुन् ।

‘मान्छेहरु हल्ला गर्छन्’ बोलको गीतमा रामकृष्ण ढकालको स्वर छ । ‘जिउँदै मरेर पनि’ बोलको गीत नेपाली स्वरका धनी स्वरुपराज आचार्यले गाएका छन् । यी दुवै गीतमा संगीत भर्ने काम रमेश कडरियाले गरेका छन् भने संगीत संयोजनको काम बरिष्ठ संगीतकार शीलाबहादुर मोक्तानले गरेका छन् ।

रमेश र प्रविशाकै साथ
ओमनाथका गीतहरु धेरै नै रेकर्ड भएका छन् । जसमध्ये प्रविशा अधिकारीको धेरै छ अर्थात् ५ वटामा उनकै स्वर छ । उनका गीतहरुमा प्रायःजसो रमेश कडरियाले नै संगीत भरेका छन् ।

प्रविशा अधिकारीले ‘जीवन बर्खे पहिरो भयो’, बद्रीप्रसाद सुवेदीको संगीतमा रहेको ‘खुसी भन्नु तिम्रो निम्ति’ लगायतका गीतमा स्वर दिएकी छन् भने केही गीतहरु जस्तै ‘मेरो अजर अमर गीत हौ तिमी’ र ‘अचानोमा राखेर मुटु रेटे पनि’ रमेश अन्जान कडरियाको संगीतमा प्रविशाकै आवाजमा निकट भविष्यमा श्रोतासामु आउने तयारीमा रहेका छन् ।

विशिष्टकै स्वरमा अन्य पनि
अञ्जु पन्तको आवाजमा ‘तिम्रो आँखामा आँशु देख्न चाहन्नँ म’, मेलिना राईको आवाजमा ‘सबै थोक छ जिन्दगीमा’, सीमान्त सन्तोषको आवाजमा ‘रहन्छ जहिलेसम्म’, सीमान्त र सारिका घिमिरेको स्वरमा ‘कसम कसम’ र तिलक कट्टेलको आवाजमा ‘तिमी रहे मात्र’ जस्ता गीतले स्रोताको मन जितेको छ ।

वियोगान्त गीतहरुमा बढी रुची राख्ने कडरियाले हस्त परियारको स्वर संगीतमा ‘बाँचु भने कोही छैनन्’ बोलको गीत, सीमान्त सन्तोषको स्वर तथा संगीतमा ‘छुटाइ गयौ किन कुन्नी’, राजकुमार बगरको संगीत र सीमान्तको स्वरमा रहेको ‘रुन पनि गाह्रो भयो’ बोलको गीतलाई बजारमा श्रोतासामु मन जित्ने गरी पस्किसकेका छन् ।

शेरबहादुर शाहीको स्वर र संगीतमा रहेको ‘हाम्रो ठाउँमा नयाँ मान्छे’ बोलको गीत र मोहन मगरको संगीतमा रहेको ‘हामी साना कोपिला हौँ’ बोलको बाल गीत ‘ओठभरि मुस्कान देखेँ’, र ‘कोही भित्र भित्र रोई’ लगायत करिब दुई दर्जन गीतहरु बजारमा आइसकेका छन् ।

नवोदित गायक अमित बिष्टको आवाजमा ‘कति दिन जिउन सक्छु’ भन्ने बोलको गीत लगायत करिब दुई दर्जन थप गीतहरु श्रोतासमक्ष चाँडै आउँदैन् ।

सानै उमेरदेखि गीत संगीतमा बढी रुची राख्ने उनी गीतलाई जीवनको अपरिहार्य साथी भन्न रुचाउँछन् । मानिसभित्रका यथार्थहरुलाई गीत संगीतका माध्यमबाट पनि चिनाउन सकिन्छ भन्ने विचार उनको छ । उनी भन्छन्, ‘गीत र संगीतले जीवनलाई जीवन्तता प्रदान गर्छ जुन मानिसको जीवन सम्झी जिउने आधार पनि बन्ने गरेको हुन्छ ।’

अध्यापन र सिर्जना सँगसँगै
मानवशास्त्रमा एमफिल र अंग्रेजीमा एमए गरेका कडरिया गीत संगीतका अलावा शिक्षण पेसामा पनि संलग्न छन् । काठमाडौँ विनायक शिक्षालय र सपना बाटिका कलेजमा लामो समयदेखि अंग्रेजी, समाजशास्त्र र अनुसन्धान विषय पढाउँदै आएका छन् । काठमाडौँको सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलमा सामाजिक अध्ययन विषय पढाउँदै आएका छन् ।

हालको हल्दीबारी गाउँपालिका साबिकको गोलधाप –१ मा जन्मिएका कडरिया कानुनका विद्यार्थी पनि हुन् । सुरु सुरुमा गीत लेखेर देखाउँदा गीतै भएन र यस्तो पनि रेकर्ड गर्न सकिन्छ र ? भन्ने खालको जवाफ कलाकारहरुबाट पाएको तीतो अनुभव छ उनीसँग । गीत लेखेकै भरमा जीविकोपार्जन गर्न नसकिए पनि गीत लेखनबाट समाजलाई केही गर्न सकिन्छ भन्ने उनलाई लाग्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...