रुसमा सेनाका लागि बम बनाउने कारखानामा विस्फोट

रुस । रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन् । विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ । उक्त कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा अवस्थित उक्त कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ । विस्फोटका बेला पाँचजना कारखानाभित्रै थिए, तर उनीहरूको सकुशल उद्धार गरिएको एक अधिकारीले बताए ।

घाइतेमध्ये अधिकांशलाई विस्फोटबाट फुटेका सिसाले चोट लागेको थियो । विस्फोटका कारण कम्पन हुँदा नजिकका घरका र अरू कारखानाका झ्यालका सिसाहरू फुट्न पुगेका थिए । कारखाना नजिकका घरका सिसाहरू पनि फुटेको अधिकारीहरूले बताएका छन् । 

जशिंस्क शहरका अधिकारीहरूले घटनास्थल वरपरका क्षेत्रमा आपत्‌काल घोषणा गरेका छन् । रुसको अनुसन्धान समितिले कारखानामा सुरक्षासम्बन्धी मापदण्डको सम्भावित उल्लङ्घन हुन सक्ने भन्दै फौजदारी अनुसन्धान थालिएको जनाएको छ ।

स्थानीय स्वास्थ्य मन्त्रालयको एउटा विज्ञप्तिमा भनिएको छ, ताजा विवरण अनुसार क्रिस्टलमा भएको विस्फोटपछि ७९ जनालाई चिकित्सकीय सहयोग मागिएको छ जसमध्ये ३८ जना कारखानाका कामदार र ४१ जना शहरका बासिन्दा छन् ।

घाइतेमा बालबालिका छैनन् । १५ जनालाई अस्पताल भर्ना गरिएको र घटनामा कसैको ज्यान नगएको विज्ञप्तिमा भनिएको छ । त्यसअघि एक स्थानीय स्वास्थ्य अधिकारीले पीडितमध्ये अधिकांशलाई छर्रा लागे मध्यम र सामान्य खालको चोट लागेको बताएका थिए ।

यसैबीच स्थानीय बासिन्दाले घटनास्थलबाट ठूलो मात्रामा धूँवा निस्किँदै गरेका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । अधिकारीहरूले कारखानाको एउटा प्लान्टमा बम नभई प्राविधिक चीज विस्फोट हुँदा एक सय वर्गकिलोमिटर वरपरसम्म आगो लागेको बताएका छन् ।

गत अगस्टमा मध्य रुसको जशिंस्कस्थित अर्को कारखानामा विस्फोट हुँदा तीन जनाको ज्यान गएको थियो । जशिंस्क विश्वकै अति प्रदूषित शहरमध्येको एउटा भएको बताइन्छ ।

प्रतिकृया दिनुहोस