ट्रम्पसँगको वार्ता विफलपछि उत्तर कोरियाका किम ह्योक चोलसहित पाँच अधिकारीलाई मृत्युदण्ड

उत्तर कोरिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता विफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना ५ अधिकारीलाई मृत्युदण्डको सजाय दिएका छन् । दक्षिण कोरियाको एक पत्रिका चोसन इल्बोले यस्तो खुलासा गरेको हो ।

रिपोर्ट अनुसार ती अधिकारीलाई फायरिङ स्क्वाडको अगाडि राखेर गोलीले उडाइएको हो । मारिनेमा उत्तर कोरियाको अमेरिकास्थित विशेष प्रतिनिधि पनि सामेल छन् । रिपोर्टका अनुसार ट्रम्पसँगको बैठक तय गर्ने विशेष प्रतिनिधि किम ह्योक चोलले धोका दिएकोमा दोषी ठहर गरिएको हो । 

भियतनाममा भएको दुई नेताको बैठकपछि चोल किमसँगै थिए । उनलाई एउटा एयरपोर्टमा विदेश मन्त्रालयका चार वरिष्ठ अधिकारीसँगै गोली हानेर मारिएको हो । पत्रिकाले मारिएका अन्य अधिकृतको नाम खुलाएको छैन । किमले यसअघि पनि सरकारका कयौँ अधिकारीलाई मारिसकेका छन् ।

 समाचारअनुसार किम जोङ्ग उनले आफ्नी भाषा अनुवादक शिन ह्ये योङ्गलाई पनि बैठकमा गल्ती गरेको भन्दै जेलमा हालिदिएका छन् । ट्रम्पसँगको भेटवार्ताका क्रममा किम जब नतिजाविहीन भन्दै जान लागेका थिए तब उनले अनुवाद गर्न असफल भएकी थिइन् ।

ट्रम्प र किम जोङ्ग उनबीच यसै वर्ष फेब्रुअरीमा भियतनामको हनोईमा वार्ता भएको थियो । दुवैबीच दुई दिनमा दुई पटक वार्ता भयो । तर दुवैबीच कुनै सम्झौता हुनसकेन । व्हाइट हाउसले पनि कुनै सम्झौता नभएको पुष्टि गरेको छ । त्यसपछि यो वार्ता असफल भएको बताइएको थियो ।


प्रतिकृया दिनुहोस