मोदीको मन्त्रिपरिषदमा १९ नयाँ अनुहार, मन्त्रीहरुको जिम्मेवारी आज तोकिने

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा देश–विदेशका करिब ८ हजार अतिथिको उपस्थितिमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मोदीले बिहीबार बेलुका शपथ लिएका हुन् । सपथसँगै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद्समेत गठन गरेका छन् । ५८ सदस्यीय मन्त्रिपरिषदमा २५ जना क्याबिनेट मन्त्री नियुक्त भएका छन् ।

९ जना स्वतन्त्र प्रभार र २४ राज्यमन्त्री नियुक्त गरिएका छन् । मन्त्रिपरिषद सदस्यको जिम्मेवारी भने शुक्रबार टुंगो लाग्ने जनाइएको छ । शुक्रबार नै मोदी नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठक बस्ने भएको छ ।

मोदी मन्त्रिपरिषदमा राजनाथ सिंह दोस्रो वरियताका मन्त्री बनेका छन् । यसअघि गृह मन्त्रालय सम्हालेका उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिइने हो या अन्य मन्त्रालयमा सारिने हो भन्ने प्रष्ट भइसकेको छैन । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पहिलो पटक केन्द्रीय मन्त्री नियुक्त भएका छन् । उनी वरियतामा तेस्रो नम्बरमा छन् । भाजपाका पूर्व अध्यक्ष नितिन गडकरी चौथो वरियतामा मन्त्री बनेका छन् ।

मोदीले पूर्वविदेश सचिव एस जयशंकरलाई पनि मन्त्रिपरिषद सदस्यमा नियुक्त गरेका छन् । परराष्ट्र मामलाका विज्ञ मानिने उनलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ । यसअघि विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेकी सुष्मा स्वराज लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी थिइनन् । उनलाई मोदीले मन्त्रिपरिषदमा निरन्तरता दिएका छैनन् । उनको स्थानमा नै एस जयशंकरलाई जिम्मेवारी दिने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।

मोदीले मन्त्रिपरिषदमा १९ नयाँ अनुहारलाई स्थान दिएका छन् । अघिल्लो मन्त्रिपरिषदमा रहेका अरुण जेट्ली, मेनका गान्धी, राज्यवर्धन राठौर, जेपी नड्डा, राधा मोहन सिंह, जयन्त सिन्हा, महेश शर्मा, सुरेश प्रभुलाई नयाँ मन्त्रिपरिषदमा स्थान दिइएको छैन । (एजेन्सी)

प्रतिकृया दिनुहोस