चितवनमा देखियो यस्तो दुर्लभ दृष्य : दाहसंस्कार गर्न लाग्दा शिशुले सास फेरेपछि...

चितवन । कहिलेकाँही पत्याउनै नसक्ने घटना हुन्छ । चितवनमा यस्तै दुर्लभ घटना भएको छ । अर्थात्  दाहसस्कार गर्न खाल्डोमा हालिसकेको शिशुले सास फेर्ला भनेर कसले पत्याउँछ र ? त्यस्तै भएको छ चितवनमा पनि । 

मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्न खाल्डोमा राख्दा एक शिशुले सास फेरेपछि पुनः अस्पताल भर्ना गरिएको छ । यो नेपालमा भएका दुर्लभ घटना मध्येको एक हो । 

हेटौँडा घर भएकी एक अविवाहिता युवतीले चितवन मेडिकल कलेजमा आइतबार शिशु जन्माएकी थिइन् । शिशुको सोमबार अपरान्ह १२ः३० मा निधन भएको अस्पतालले घोषणा गरेको थियो । त्यसपछि परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टि गर्न देवघाट लगेका थिए । 

तर, परिवारजनले देवघाटमा अन्त्येष्टिको तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । शिशुको चितवन मेडिकल कलेज ल्याई भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवती अविवाहिता भएकीले उनको नाम र ठेगाना गोप्य राखिएको छ । 

प्रतिकृया दिनुहोस