गुल्मीको वडागाउँमा फैलिएको झाडापखला अझैं नियन्त्रण बाहिर

सचेत रहन चिकित्सकको आग्रह

गुल्मी । केही दिनदेखि फैलिएको झाडापखला अझै नियन्त्रण आउन सकेको छैन । ५ दिनदेखि फैलिएको झाडापखलाकै कारण गुल्मीको मुसिकोट नगरपालिका–४ वडागाउँको दजाकोटमा एक जनाको मृत्यु भएको छ ।

दूषित खानेपानीका कारण दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोप अझै नियन्त्रणमा आएको छैन । जसका कारण सिङ्गो गाउँकै जनजिवन प्रभावित भएको छ । गत बैशाख ८ गतेबाट सुरु भएको समस्या अझै पुरै नियन्त्रणमा आउन सकेको छैन् ।

बिरामीमध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको मुसिकोटका स्वास्थ्य संयोजक डिबि जिसीले जानकारी दिए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीमार्फत पाल्पाका गरिएको परिक्षणमा दजाकोटमा खानेपानीमा कोलिफम भएको पुष्टि भएको थियो ।

गर्मी बढ्दै गएकाले अवस्था अझ बिकराल हुनसक्ने देखिएको छ । स्थानीय पशुपति निम्न माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत १४ वर्षीया रेशम सिंजालीको ज्यान गएको स्थानीय हरि छन्तेलले जानकारी दिए । झाडापखालाबाट बालकका आमा र हजुरआमा पनि बिरामी परेका छन् ।

गाउँका सवै नागरिक बिरामी पर्न थालेपनि स्थानीय पशुपति निमावि पनि बन्द गरिएको छ । घरका अभिभावक र बालबालिका नै बिरामी पर्न थालेको र बिद्यालयमा अझै धेरै सर्ने सम्भावना भएकाले बन्द गरिएको हो । 

विद्यालयमा अहिले एक सय १५ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । समस्या अझै नियन्त्रणमा नआएकाले बिद्यालय संचालन नहुँदा नयाँ शैक्षिक सत्रको पढाई प्रभावित भएको छ । 

दजाकोटमा झडापखालाले भयावह रूप लिन थालेको छ । दूषित पानीका कारण बिरामी हुनेको संख्या १ सय ९२ जना पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिए । 

उनले खानेपानीमा पहिलो दिनको एक सय मिलिलिटर खानेपानी परिक्षण गर्दा एक सय ४० नम्बर कोलिफम भेटिएको बताए । न्यौपानेले विश्व स्वास्थ्य सगंठनका अनुसार खानेपानीमा कोलिफमको संख्या शुन्य नै हुनुपर्ने बताए । त्यो कोलिफम मानिस वा अन्य जनावरको भन्ने बारेमा अझै टुङ्गो नलागेको बताए ।

खानेपानीका कारण दजाकोटमा झाडा पखला लगायतको प्रकोप देखिएपछि काठमाडौंबाट बिज्ञ टोली पनि आएको छ । यो समस्या दजाकोटमा मात्रै नभएर अन्यत्र पनि हुन सक्ने भएकाले सचेत रहन चिकित्सकहरुले आग्रह गरे । खुल्ला मुहानबाट पानी खाइरहेका नागरिकलाई यो समस्या जति बेला पनि आउने भएकाले गम्भीर रहन उनीहरुको सुझाव छ । 


प्रतिकृया दिनुहोस