जन्ती र गाउँलेबीच झडप, तीन जन्ती घाइते

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान जन्ती आएका मानिस र गाउँलेबीच झडप हुँदा तीन जना घाइते भएका छन् । 

झडपमा जन्ती पट्टीका महोत्तरीको रामगोपालपुर नगरपालिका–९ निवासी ३२ वर्षीय देवेन्द्र अधिकारी, ५८ वर्षीय राजकिशोर साह र ३२ वर्षीय अरुणकुमार साह घाइते भएका हुन् । उनीहरुको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मलङ्गवा नगरपालिका–१ मा जन्ती आएका मानिसले पानी माग्दा पानी नदिएको निहुमा झडप भएको र घटनामा संलग्न रहेका स्थानीय एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए ।

शनिबार बिहान साँढे २ बजे तिर जन्ती र गाउँलेबीच झडप हुनासाथ प्रहरी घटनास्थलमा पुगेर दुवै पक्षलाई सम्झाईबुझाई गरी स्थिति नियन्त्रणमा लिएको नायव उपरीक्षक राठौरले बताए ।

सदरमुकाम मलङ्गवामा जन्ती आएका मानिस र गाउँलेबीच यसरी पटक–पटक झडप हुने गरेको छ । अत्याधिक मदिरा सेवनका कारण बारम्बार झडप हुने गरेको नागरिक अगुवाहरुले बताएका छन् ।


प्रतिकृया दिनुहोस