कस्तो रहला तपाईको यो वर्ष ? यस्तो छ २०७६ को वार्षिक भविष्य एवं राशिफल

57161037 2425366887493652 6915497795872882688 n

सूर्यले ३६० डिग्री पूरा गरी पुनः शून्य डिग्रीमा प्रवेश गर्दा २०७६ बैशाख १ गते नेपालको काठमाडौंमा साँझको १६ः३६ बजिरहेको हुन्छ । सो समयमा नेपाली आकाशको क्षितिजमा कन्या लग्न उदाइरहेको हुन्छ ।

यो वर्ष राजा शनि र मन्त्री सूर्य रहेका छन् । ग्रहको आपसी स्वभाव र सम्बन्धमा शनि र सूर्य शत्रुकार हुन् । राज्यको अभिभावकीय पक्ष र सरकार अथवा मन्त्रीमण्डल तथा कार्यपालिका बीच केही चिसोपन सृजना हुनसक्छ । प्रकारान्तरले विभिन्न पक्ष एवं क्षेत्रमा पहिलो तहले दोस्रो तहलाई अधिकार दिएर आफू निस्क्रिय रहनपर्ने खालका व्यवहारहरूप्रयोगमा आउने छन् ।

राम्रो पक्षः चतुर्थस्थानमा गुरु बृहस्पति स्वगृही, सूर्य विपरित राजयोगकार भएर अष्टममा उच्च, राहु दशौं र केतु चतुर्थमा उच्च । चन्द्रमा एकादशमा स्वगृही ।

कमजोर पक्षः द्वितीयेश र भाग्येश षष्ठभावमा, लग्नेश सप्तम्मा नीच, तृतीयेश–अष्टमेश मङ्गल नबौं ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.) –
मेष राशि हुनेहरूको लागि वर्ष सामान्यतया संघर्षप्रद देखिएको छ । वर्षको मध्यतिर भने केही सहज अनुभव गर्न पाइने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि आकस्मिक लाभको अवसरहरू पनि मिल्ने छन् । प्रतिस्पर्धा आदिमा सफलता मिल्नेछ । मुद्धामामिला जन्य पक्षमा विजयी भइनेछ । जन्मकालीन ग्रहहरू प्रतिकूल हुनेहरूको लागि भने उथलपुथलजन्य छ । जागिर अथवा कार्यरत क्षेत्र तथा खाइपाई आएको सेवासुविधामा अबरोध देखिएको छ । व्यवसाय उद्यम आदिको बारेमा अप्रत्यासित प्रस्तावहरू आउनसक्ने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुनसक्ने छ । दाजुभाइ एवं नातासम्बन्धमा अप्रत्यासित कष्ट तथा असमझदारी एवं वैमनस्यता हुने लक्षण छ, सावधानी अप्नाउनु होला । मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने देखिएको छ । पछि पर्दाफास हुनेर ईज्जतप्रतिष्ठामा आँच आउने कैफियतपूर्ण कार्यप्रति मन आकर्षित हुने तथा कुसंगत हुनजाने सम्भावना छ, निकै होशियारी अप्नाउनु होला । भलै संघर्षको बढी अनुभूति किन नहोस् स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्नेछ । यो वर्ष तपाईले माँ बगलामुखी, भैरवदेव र हनुमानदेवको साथै विद्यार्थीहरूले माँ सरस्वतीको वन्दना दर्शनभक्ति उपाशना गर्नु हितप्रद रहनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) –
वृष राशि हुनेहरूको लागि यो वर्षको मध्यसम्म संघर्षको वाबजुत केही उपलब्धि हासिल गर्न सनिने छ । तथापि बढी ईच्छाएको काममा सफलता पाउन अल्लि कठिन छ । अपयशको पनि सामना गर्नुपर्ने देखिन्छ । व्यापारजन्य आय–आम्दानीको मात्रा केहीहद्सम्म बढ्नेछ । प्रतिकूल ग्रहको उपाय अप्नाउनाले राजनीति एवम् समाज सेवा र जागिर आदिमा साविकको भन्दा केही माथिल्लो भूमिका प्राप्त गर्नसकिने छ । केही अबरोधको बाबजुत अल्लिबढी मेहनत गर्नाले नयाँ पेशा–व्यवसाय तथा जागिर मिल्ने र पुरुषार्थ गर्न सकिने छ । विवाह योग्य युवायुवतीको लागि दाम्पत्यसम्बन्ध जोडिने छ । वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको ईच्छा पूरा हुने समय परेको छ । भाद्र उपरान्त ग्रहको प्रतिकूलता बढ्नसक्ने छ । आफ्नै र मान्यजनको स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने छ भने आफन्तिजन टाढिनसक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । अढैया शनिलगायतका प्रतिकूल ग्रहगोचरको दुष्प्रभाव कम गर्न महावीर पवनपुत्र हनुमान, भैरवदेव, माँ भगवती र वर्षान्तमा माँ बगलामुखी तथा विद्यार्थीले माँ सरस्वतीको सेवा श्रद्धाभक्ति एवं स्तुति गर्नाले ग्रहको दुस्प्रभाव कम गर्न एवं शुभ फल बढाउन मद्दत हुनेछ ।

मिथुन (का.कि.कु.घ.ङ.छ.के.को.ह.) –
मिथुन राशिको लागि यो वर्षको मध्यसम्म अल्लि बढी संघर्षप्रद गोचर रहेकोले स्वकर्मबाट विचलित नहुन संयम एवं सहनशक्ति र कर्मयोग बढाउनु उचित हुनेछ । जसले विभिन्न बाधा अड्चन एवं अपयशको बाबजुत आंशिक कार्यमा सफलता मिल्ने छ । महत्त्वाकांक्षी स्वभाव हुनेहरूलाई कम उपलब्धिले मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्य विमूढताको मनोविज्ञानले प्रसय पाउने हुनसक्ने छ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई दाम्पत्यसम्बन्धमा ह्रास आउने तथा जीवनसाथीलाई कष्ट हुने सम्भावना छ । प्रेममा धोका हुने तथा कपटी प्रेमको फन्दामा परिनसक्ने खतरा छ । जन्मकालीन ग्रह अनुकुल हुनेहरूलाई भने आकस्मिक लाभ एवं उपलब्धि मिल्नेछ । वर्षको उत्तरार्धबाट ग्रहगोचरमा केही सुधार आउने र कामकार्य एवं परिस्थितिमा सहज हुनेछ । सकारात्मक चिन्तनले सद्कर्म बढाउन सकिनेछ । घर परिवार तथा आफन्तबाट टाढिनेजन्य यात्रामा सफलता मिल्ने छ । यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढाउँदै हनुमान–शनिमहाकाल, महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले माँ सरस्वती तथा सर्वसाधारण सबैले माँ वगलामुखी एवम् कुलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुति, काग–कुकुर सेवा र ब्रह्मज्ञानी गुरुजनको आर्शिवाद लिने जस्ता उपाय एवं व्रत अवलम्वन गर्नु हितकर हुने छ ।

कर्कट (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) –
कर्कट राशि हुनेहरूको लागि यो वर्षको पूर्वार्धमा विशेष कामकार्यमा सफलता प्राप्त गर्न सकिने छ । व्यवसायिक उन्नति, अध्ययन सफल, घर–जग्गाको व्यवस्था आदि विशेष एवं महत्त्वपूर्ण कार्यहरू बन्ने छन् । उद्योगीको उद्योगधन्दा फस्टाउनेछ, नयाँ पेशाको थालनी हुनसक्ने छ । रोजगारीको प्रतिक्षामा बसेकाहरूको लागि वर्ष विशेष अनुकूल देखिएको छ । राजनीति एवं समाज सेवामा पदीय हैसियत तथा जिम्मेवारी मिल्नेछ । जागिरमा पदोन्नति हुनेछ । खेलकुदकर्मीको लागि पनि वर्ष उपलब्धिमूलक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । विवाह योग्य युवायुवतीको लागि विवाहबन्धन कसिने छ भने असमझदारी झेल्दै आएका दम्पति तथा प्रेमजोडी बीच सुधार आई सम्बन्ध प्रगाढ बन्नेछ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अनावश्यक रूपमा धनको फुर्ति एवं उन्माद बढ्नसक्ने छ भने आफूबाट गएको तथा दिएको चीज नफर्कने सम्भावना छ सरसापट्टी आदिमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । वर्षको उत्तरार्ध पछि प्रतिकूलता बढ्ने छ आवश्यक संयम अप्नाउनु बुद्धिमानी हुनेछ । यो राशि हुनेहरूले यो वर्ष भैरव उपाशना र भाद्रमास उपरान्त माँ बगलामुखीको साथमा हनुमानदेवको भक्तिदर्शन तथा व्रतादि एवं विद्वान गुरुजनबाट आर्शिवाद मार्गदर्शन ग्रहण आदि गर्नु शुभप्रद हुनेछ ।

सिंह (म.मि.मु.मे.मो.ट.टि.टु.टे.) –
सिंह राशिका व्यक्तिलाई यो वर्ष मध्यम खालको छ । वर्षको मध्यसम्म अपेक्षित कार्यमा सफलता तथा उपलब्धि पाउन संघर्ष देखिएको छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूलाई आकस्मिक लाभको संभावना भने सुरक्षित नै देखिन्छ । तर पछि ईज्जत तथा प्रतिष्ठामा आँच आउने खालको कैफियतयुक्त आर्जनतर्फ मन आकर्षित हुनसक्ने छ जसबाट बच्नु बुद्धिमानी हुनेछ । अध्ययन, बोलीवचन तथा जनव्यवहारमा ज्ञानोन्माद्–प्रमाद् बढ्नसक्ने भय छ । ग्रहले विषयान्तर गराउन तथा अध्ययनलाई अधुरो राख्न खोजिरहेकोले विद्यार्थीले विशेष ध्यान पुर्याउन जरुरी देखिन्छ । सैद्धान्तिक एवं नीतिगत विचलन आउने र मान्छेहरूको मुल्याङ्कनमा तपाईको कमजोरी फेला पर्नसक्ने सम्भावना छ । जन्म कालीन ग्रह प्रतिकूल हुनेलाई भएका कारोवार उल्टिन सक्नेछ । तान्त्रिक आदि गुप्त विद्याको अभिलाषा बढ्ने, भूमिगत एवम् जासुसि कर्ममा उद्यत हुने बुद्धि पलाउने सम्भावना देखिन्छ । जसबाट बचेकै राम्रो हुनेछ । वर्षको मध्यतिरबाट भने स्थितिमा राम्रो सुधार आउने छ । यो वर्ष तपाईले हनुमान चालिसा, भगवती स्तोत्र, भैरवस्तोत्र आदि पाठ, महाकालशनि, भैरवदेव, काली, छिन्नमस्ता आदि देवदेवीको दर्शन भक्ति एवं सात्त्विक पूजापाठ, व्रत आदि उपाशना अवलम्वन गर्नु बुद्धिमानी हुनेछ ।


कन्या (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.) –
कन्या राशि हुनेहरूको लागि यो वर्ष संघर्ष एवं उथलपुथलप्रद देखिएको छ । तर पनि सत् नछाड्ने र स्वकर्ममा रत् रहने तथा संयमपूर्वक बुद्धिले काम लिने कर्मयोगीहरूले संभावित क्षतिलाई टार्न सकिनेछ । हिम्मत गिराउन पर्नेछैन । भलै ठूलो उपलब्धि नभए पनि सामाजिक कार्यहरूमा सक्रियता बढाउन सकिनेछ । व्यक्तिगत लाभ कम भएपनि अभियानमूलक लोकहितका कार्यमा भूमिका निभाउन सकिने छ । बढी महत्त्व दिइएको कार्यमा ढिलासुस्ति तथा बाधा अबरोध आउने नै छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि चोटपटक–घाऊखटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक एवम् घरायसी समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानी अप्नाउनु आवश्यक देखिन्छ । जग्गा तथा घरघडेरीको किनबेच गर्न समय त्यति अनुकूल छैन, विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय छ । सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा शुभ परिणाम हात पार्न सकिने छ । वर्षको उत्तरार्ध पछि तसै केही सुविस्ता महसूस हुनेछ । हनुमान–शनिमहाकाल एवम् भैरवदेव र माँ बगलामुखीको सात्त्विक तवरबाट स्तुति आराधना गर्नाले प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत मिल्नेछ ।


तुला (रा.री.रु.रे.रो.त.ति.तु.ते.) –
तुला राशिको लागि यो वर्ष अधिकांश पक्षमा एवं समय अनुकूल देखिएको छ । थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । गुमेको मान प्रतिष्ठा तथा पुरानो साख एवं विग्रिएको सम्बन्ध र उद्यमहरू पुनस्र्थापित र सुधार गर्न सकिनेछ । न्यायिक क्षेत्र सबल रहनेछ । विवाहयोग्य युवायुवतीलाई वैवाहिक बन्धनमा बाँधिने सौभाग्य मिल्नेछ भने विवाहितहरूको दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । विद्वान गुरुजनको आर्शिवाद तथा शिष्यत्त्व प्राप्त गर्नसकिने छ । बोलीवचन, प्रवचन, गायन, उद्घोष्ण, वाचन, शिक्षणजन्य वाकवृति हुनेहरूको लागि विशेष कीर्तिप्रद वर्ष रहेको छ, सदुपयोग गर्नुहोला । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि हात खुट्टा एवं फोक्सो, घाँटी–छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ । थायराइड, प्रोष्ट्रड, लिभज–प्याङ्क्रियाज, मिर्गौला, गर्भाशय आदि ग्रन्थी सम्बन्धित रोगको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । वर्षको अन्त्यतिर प्रतिकूलताको लक्षण प्रतित हुनसक्ने छ ख्याल पुर्याउनु होला ।
यो वर्ष तपाईले भैरवदेव एवं छिन्नमस्ता देवीको उपाशना तथा दर्शनभक्ति र इष्टदेवको साधना बढाउनु शुभकर हुनेछ । असहाय गरीब दीनदुःखलाई सेवासहयोग गर्नाले सम्भावित अनिष्टलाई कम गर्न मद्दत मिल्नेछ ।


वृश्चिक (तो.ना.नि.नु.ने.नो.य.यी.यु.) –
वृश्चिक राशिको लागि यो वर्ष मध्यसम्म अलमले रहेपनि उत्तरार्ध उपलब्धिमूलक रहने छ । शुरुशुरुमा आफ्नो कामलाई भन्दा बाहिरी काममा बढी समय दिनुपर्ने छ । फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै व्यवहारिकता निभाउन पर्ने ठाऊँमा चुकिनसक्ने छ ख्याल पुर्याउनु होला । अवसरको सदुपयोग गर्न सकेको खण्डमा भाद्र उपरान्त केही महत्त्वपूर्ण काममा सफलता प्राप्त गर्न सकिने छ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई भने वादविवाद, मुद्धामामिला, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता प्रतिकूलता थोरधेर पर्ने नै छ । विश्वासघाती चक्रब्यूह, कुलतीकुसंगतको भय पनि देखिन्छ । पछि पश्चाताप हुने काममा मन जाने जस्तो पनि नपर्ला भन्न सकिन्न । शिर, नाककान घाँटी एवं छाती र दन्तरोग, अर्श (पाइल्स), ग्रन्थी (गाँठागुँठी) बढ्ने, वातव्याधि जस्ता स्वास्थ्य समस्याको सम्भावना देखिएको छ । ग्रहानिष्ट एवम् तनावलाई समन गर्न तपाईले यो वर्ष हनुमान तथा शनि महाकाल, भैरवदेव साथै माँ वगलामुखी र विद्यार्थीले विद्याकी देवी सरस्वतीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ ।


धनु (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.)–
धनु राशिको लागि यो वर्ष अनुकूलताको तुलनामा प्रतिकूलता तथा संघर्षजन्य परिस्थितिसँग बढी जुध्नुपर्ने छ । धेरै पक्षमा सावधानी अप्नाउनु पर्ने खालको ग्रहगोचर देखिएको छ । मिथ्याऽपवाद, दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य कष्ट देखिएको छ भने परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, पश्चाताप पर्नेजस्ता फलको सामना गराउन ग्रहगोचरले बल गरिरहेको छ ।अप्रत्यासित परिणाम दिने गोचर भएकोले एकातर्फको ईच्छा चाहना तर अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि भने अपेक्षित कार्यमा अबरोध भएपनि अनपेक्षित रूपमा आकस्मिक लाभ एवं उपलब्धि हुनेछ । संघर्षको बाबजुत पदप्रतिष्ठा मिल्ने, राज्यलाभ एवं सफलता र विजय भइनेछ । वातव्याधि, स्नायू तथा नशा रोग, ढाडकम्मर, शिर मस्तिष्क, उदरब्रण (अल्सर), उरःक्षत (क्षय), चोटपटक एवं प्रोष्टेड, वृक्कदोष अर्थात मिर्गौला सम्बन्धित रोग, यकृत शोथ तथा शोष अर्थात लिभर सम्बन्धी रोग, गर्भाशय, थायरायड, स्तन विकार आदि ग्रन्थीजनित रोगको खतरा छ । साढेसाती शनिलगायत ग्रहको दुष्प्रभावलाई कम गर्न तपाईले यो वर्ष शनिस्तोत्र पाठ, शनिमहाकाल, हनुमान, भैरव तथा छिन्नमस्ता देवी, माँ बगलामुखी, विद्यार्थीहरूले माँ सरस्वती आदिको दर्शन भक्ति एवं उपाशनाादि व्रत गर्नु विशेष हितकर हुनेछ ।


मकर (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.)–
मकर राशिको लागि यो वर्षको मध्यसम्म केही पक्षमा अनुकूल देखिएको छ । र पनि विशेष सावधानी अप्नाउनु पर्ने अवस्थालाई पनि गोचरस्थितिले लक्षित गरिरहेको छ । व्यापार व्यवसाय, उद्यम, उत्पादन, कृषि आदिबाट लाभ गर्न सकिने छ । शिक्षा, रोजगार, देशविदेशको यात्रा आदिमा पनि सफलता प्राप्त गर्न सकिने छ । घरपरिवारमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको सु–अवरस मिल्नेछ । दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि उथलपुथलजन्य स्थितिलाई गोचरले संकेत गरेको छ । मिथ्या अपवाद, अनपेक्षित मुद्धामामिला–वादविवाद, अन्यौलता, कपटप्रेमको फन्दा, धन–जन तथा भौतिक सम्पत्तिको क्षतिखति, चोरीहुने हराउने, दैविक विपत्ति, कूल–परिवारमा रोग, घाऊखटिरा–चोटपटक, वायु विकार–उदररोग, स्नायू आदि साध्यासाध्य स्वास्थ्य समस्याको सम्भावनालाई खगोलीय ग्रहस्थितिले संकेत गरेका छन् । भाद्र पछिका दिनमा अझै सावधानी अप्नाउनुपर्ने देखिन्छ । तर जन्म समयमा शनि आदि ग्रह अनुकूल अर्थात कारक रहनेको लागि भने प्रतिकूल फल कम घटित भइ आकस्मिक लाभ एवं राजमान तथा अधिकार पनि प्राप्ति हुनसक्ने छ । यो वर्ष तपाईलाई हनुमानवीर, शनिमहाकाल र भैरवदेवको स्तुति आराधना उपाशना गर्नु शान्तिप्रद हुनेछ ।

कुम्भ (गु.गे.गो.स.सी.सु.से.सो.द.) –
कुम्भ राशि हुनेहरूको लागि यो वर्ष मध्यम छ । कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । तथापि दैनिक पेशा तथा व्यवसाय एवं ठिक्कको कार्यमा सफलता प्राप्त हुनेछ । न्यायिक विजय मिल्ने र कुलभित्र प्रतिष्ठा बढ्ने जस्ता कामहरू गर्नसकिने छ । अल्लि विशेष महत्त्व दिएका कामकार्यहरूमा भने अबरोध सृजना हुनसक्ने देखिन्छ । कतिपय कामहरू अन्तिममा पुगेर अल्झिनसक्ने छन् । व्यापार–व्यवसायी तथा फार्मिङ कृषक तथा उद्यमीलाई साख बचाउन धौधौ पर्नसक्ने छ । जसको ज्योतिषीय उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अध्ययनमा अबरोध देखिन्छ । पछि पर्दाफास हुने अवैधकार्य एवं कुधनको कुचेष्टा तर्फसमेत मन आकर्षित हुनसक्ने कुरालाई नकार्न सकिन्न ।वर्षको मध्य उपरान्त ग्रहको स्थितिमा केही सुधार आउने र परेका समस्यामा कमि आउने तथा रोकिएर रहेका कामकार्यमा सफलता प्राप्त गर्न सकिने छ । विद्यार्थीलाई अध्ययनमा सफलता मिल्नेछ भने अन्यलाई पेशामा उन्नति भई लाभ मिल्नेछ । स्वास्थ्य लगायत सम्भावित अनिष्ट एवं ग्रहजनित दुष्प्रभाव तथा रोकावटलाई निवाराण गर्न यो वर्ष भैरवदेव र माँ बगलामुखीको साथै विद्यार्थीले माँ सरस्वतीको स्तुतिध्यान एवम् श्रद्धाभक्ति व्रत आदि गर्नु हितकर हुने छ ।

 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.) –
यो वर्ष मीन राशिको लागि संघर्षकर देखिएको छ । उपलब्धि हातपार्न कठिन पर्ने देखिन्छ । बढी महत्त्व दिएको काममा हलो अड्कन सक्नेछ । आशा–अपेक्षा एवं आश्वासन प्रसस्त हुने तर पूरा हुन नदिने ग्रहगोचर रहेकोले कम भरोसा गरेको राम्रो होला । श्रमिक वर्गसँगको सहकार्य, झट्ट हेर्दा सफासुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा भने संघर्षको वाबजुत पनि केही सफलता मिल्ने छ । जन्मकालीन ग्रह अनुकूल हुनेलाई आकस्मिक रूपमा नसोचेको सफलता एवं लाभ मिल्नसक्ने छ । तर राज्य एवं सामाजिक र व्यवसायिक काममा अनपेक्षित लाभ भयो भन्दैमा मख्ख भने नपर्नु होला । अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । अल्लि सावधानी पनि अप्नाउनु होला कुनियतको चक्रब्यूहमा पनि फसिनसक्ने सम्भावना छ । जन्मकालीन ग्रह प्रतिकूल पर्नेहरूलाई दैनिक कामकार्य तथा व्यवहार चलाउन पनि धौधौ पर्नसक्ने छ । खाईपाई आएको सेवासुविधा तथा पदप्रतिष्ठा अर्थात भोगाधिकारबाट हात झिक्न पर्नसक्ने छ । वर्षको अन्त्यतिर भने केही सहज महसूस हुनजाला । अड्किएर रहेका केही कामहरूबन्ने र राहतको अनुभूति गर्न पाइनेछ । यो वर्ष तपाईले वर्षभरी भैरव र हनुमानदेवको र वर्षको मध्यबाट माँ बगलामुखीको दर्शनभक्ति आराधना उपाशना गर्नु हितप्रद हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...