सन्दीपले लिए टी–२० वरीयताका शीर्ष २ ब्याट्सम्यानको विकेट

Sandeep

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ। युएईमा भइरहेको पिएसएलमा लगातार चौथो खेलमा विकेट लिने क्रममा लाहोर क्वालन्डर्सका बलर सन्दीपले बिहीबार अबेर राति भएको खेलमा कराची किंग्सविरुद्ध २ विकेट लिएका हुन्।

सन्दीपले पहिलो विकेटको रुपमा कोलिन मुनरोलाई आउट गरे। तेस्रो ओभरमै बलिङ गरेका सन्दीपले सो ओभरको अन्तिम बलमा मुनरोलाई १५ रनमा हरिस सोहिलको हातबाट क्याच गराए। न्युजिल्यान्डका ब्याट्सम्यान मुनरो  आइसिसी टी–२० ब्याट्सम्यान वरीयतामा दोस्रो स्थानमा छन्।

सन्दीपले आफ्नो व्यक्तिगत दोस्रो ओभरको  पहिलो बलमै विकेट लिने क्रममा कराचीका बाबर अजामलाई बोल्ड गरे। पाँचौ ओभरमा कराचीका ओपनर अजामले ११ रन बनाएर खेलिरहदा सन्दीपको बल सामना गर्ने मिडल स्टम्प्ट भाँचिएको थियो। पाकिस्तानका अजाम टी–२० वरीयताका नम्बर एक ब्याट्सम्यान हुन्।

बाँकी २ ओभरमा भने सन्दीपले विकेट लिन सकेनन्। खेलमा सन्दीपले ४ ओभरमा १७ रन खर्चिए। उनले केवल १ चौका मात्र बेहोरेका थिए। पिएसएलमा सन्दीपले चार खेलमा अहिलेसम्म १० विकेट लिइसकेका छन्। उनले सुल्तान मुल्तानविरुद्धको पहिलो खेलमा ३ विकेट, क्वेउटा ग्लाडिएटर्सविरुद्धको दोस्रो खेलमा १ विकेट र ग्लाडिएटर्सविरुद्धकै तेस्रो खेलमा ४ विकेट लिएका थिए।

सन्दीपले बिहीबार २ विकेट लिएर कसिलो बलिङ गरेपनि लाहोर पराजित भयो। लाहोरमाथि कराचीले ५ विकेटको जित हात पार्यो। पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोड्यो। कराचीले ५ बल बाँकी छदा ५ विकेटको क्षतिमा लक्ष्य पार गर्‍यो।

प्रतिकृया दिनुहोस