डीपीएल फाइनल आज, महेन्द्रनगर र अत्तरियाको लक्ष्य 'च्याम्पियन'

Dpl cricket2 1

धनगढी । सर्वाधिक पुरस्कार राशीको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा हुने फाइनलमा महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरियाले प्रतिस्पर्धा गर्नेछन् । महेन्द्रनगर र अत्तरियाबीचको फाइनल खेल अपरान्ह १२:३० मा सुरु हुनेछ ।

शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दिपेन्द्र सिंह ऐरीको अत्तरिया उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पहिलो पटक डीपीएलको फाइनल पुगेको दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछन् ।

जुन लक्ष्य लिएर आएका थियौं । अहिलेसम्म पुरा हुँदै आएको छ । अब एक खेल बाँकी छ , महेन्द्रनगरका कप्तान शरदले फाइनल अघि भने, योजना सामान्य छ । राम्रो क्रिकेट खेलिरहेका छौँ । हामी फाइनलमा सफल हुनेमा ढुक्क छौं । ट्रफी जित्ने छौं ।

महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो । महेन्द्रनगर पहिलो पटक फाइनलमा पुगेको हो । आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरियासंगको भेट पक्का गरेको हो ।

काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम देखिएको छ । अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको छ । महेन्द्रनगरविरुद्ध अत्तरिया त्यहिँ प्रदर्शनलाई कायम राख्दै पहिलो पटक डीपीएलको ट्रफी उचाल्न चाहन्छ ।

हामीले जसरि क्रिकेट खेलिरहेका छौँ । त्यसलाई फोकस गरेर अन्तिम खेल खेल्ने छौं, कप्तान दिपेन्द्रले भने, फाइनलमा दबाब लिएर खेल्ने छैनौ । हामी जसरी खेलिरहेका छौं त्यसरी हेर्दा हामी फाइनल जित्छौ ।

महेन्द्रनगरविरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ । समूह चरणमा अत्तरिया महेन्द्रनगरसंग ७ विकेटले पराजित भएको थियो ।

यस संस्करणको विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले ९सुनको जुत्ता०, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस