रुपन्देहीमाथि महेन्द्रनगरको १ रनको जित, फाइनल प्रवेशका लागि काठमाडौंसँग भिड्ने

Dpl cricket2 1

काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा महेन्द्रनगर युनाइटेडले रोमाञ्चक जित हात पार्दै क्वालिफायरमा स्थान पक्का गरेको छ।

महेन्द्रनगरले बिहीबार धनगढीको फाप्ला मैदानमा भएको एलिमिनेटरको खेलमा रुपन्देहीलाई १ रनको झिनो अन्तरले पराजित गरेको हो। अब दोस्रो क्वालिफायरमा महेन्द्रनगरले काठमाडौं गोल्डेन्ससँग भिड्नेछ। काठमाडौं र महेन्द्रनगरबीचको विजेताले शनिबार हुने उपाधि भिडन्तमा सिवाइसी अत्तरियासँग प्रतिस्पर्धा गर्नेछ।

बिहीबार महेन्द्रनगर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १५ रन जोड्यो। जवाफी ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र जोड्न सक्यो।

रुपन्देहीलाई अन्तिम ओभरमा जितका लागि ५ रन चाहिएको थियो भने ४ विकेट बाँकी थियो।  अन्तिम ओभरको पहिलो ३ बलमा १ रन जोडेको महेन्द्रनगरले बाँकी ३ बलमा ३ विकेट गुमायो। चौथो बलमा प्रदीप ऐरी २८ रनमा रनआउटको सिकार भए। पाँचौ बलमा बिक्रम शोवलाई अभिनास बोहोराले रोहित पौडेलको हातबाट क्याच गराए। अन्तिम बलमा जितका लागि ३ रन चाहिएको स्थितिमा कप्तान बसन्त रेग्मी रनआउट भए।

त्यसअघि रुपन्देहीका लागि विनोद भण्डारीले २१ बलमा २३ रन जोडेका थिए। ओपनर बाबर हायतले २८ रन जोड्दा उनका ओपनिङ पार्टनर सन्दीप सुनारले १४ रन बटुले। बलिङमा महेन्द्रनरका अभिनास बोहोराले २ विकेट लिए। सिद्धान्त लोहनी, सागर ढकाल र मोहमद नविदले १–१ विकेट लिए।

ब्याटिङतर्फ महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले नटआउट २९ रन जोडे। उनले ३८ बलमा २ चौका हिर्काए। नविदले १८ रन र सुब्रमन्यु आनन्दले १० रनको योगदान दिए। बलिङमा रुपन्देहीका ललितसिंह भण्डारीले ४ विकेट लिए। मेहराले ३ विकेट र बसन्त रेग्मी २ विकेट हात पारे।

 

प्रतिकृया दिनुहोस