वर्षाले डीपीएल क्रिकेटमा धनगढीलाई पहिलो गाँसमै लाग्यो ढुंगा, अरु खेल पनि प्रभावित बन्न सक्ने

Dpl barsha pravabit

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्तर्गत शनिबारका सबै खेल रद्द भएको छ । बिहिबारबाट परेको बर्षाको कारण मैदानमा पानी जमेपछि शनिबारको पहिलो खेल रद्द भएको हो ।

फाप्ला क्रिकेट मैदानमा शनिबार पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको थियो । बर्षाको कारण बिहिबारको दोस्रो खेलसमेत रद्द भएको थियो । महेन्द्रनगरविरुद्ध विराटनगरले ब्याटिङ गरिरहदा पानी परेपछि खेल रद्द भएको थियो ।

खेल रद्द भएपछि दुवै टिमले एक एक अकं बाँडेका छन् । काठमाडौं ३ खेलबाट ५ अकं जोडेर शीर्ष स्थानमा छ । विराटनगर ४ खेलबाट ४ अकं जोडेर चौंथो स्थानमा छ ।

तेस्रो संस्करणको लिग खराब मौसमले प्रतियोगिताका आगामी खेलहरु बर्षाले विथोल्न सक्ने चिन्ताले आयोजक र सहभागी टिमहरु चिन्तित बनिरहेका छन् ।

‘पहिलो गाँसमै ढुँगा’ भने झै उद्घाटन खेल नै वर्षाका कारण दुई दिनपछि धकेलिएको थियो । शनिबार हुने भनिएको उद्घाटन समारोह सोमबारलाई सारियो । प्रतियोगिता करिब आधा यात्रामा रहँदा मौसममा सुधार आएको छैन ।

आयोजक धनगढी क्रिकेट एकेडेमीलाई तेस्रो संस्करणको डीपीएल आफ्नै अभियानमा निर्माण हुँदै गरेको फाप्ला क्रिकेट मैदानमा सञ्चालन गर्न निकै संघर्ष गर्नुपर्‍यो । निर्माणाधीन अवस्थामै रहेको मैदान प्रतियोगिताकै लागि भनेर करिब तीन महिनाअघिदेखि तयारी गर्न थालियो । पाँचवटा पिच र दर्शकका लागि प्याराफिट बनाइएको छ ।

डीपीएलको यसअघिका दुई संस्करण एसएसपी क्रिकेट मैदानमा सम्पन्न भएका थिए । तर तेस्रो संस्करणदेखि आफ्नै अभियानमा निर्माण भइरहेको ड्रिम फाप्लामा प्रतियोगिता गरिरहँदा मैदानको गुणस्तरबारे प्रश्न उठेका छन् ।

आयोजकले मैदानमा दुबो उमार्नेदेखि सबै कार्यहरु थालेको थियो । तर अहिले डीपीएलका खेल चलिरहँदा मैदानमा घाम लागेको बेला धुलो उड्ने गरेको छ । मैदानको सबै भागमा राम्ररी दुबो उम्रिएको छैन, जहाँ पानी पर्दा मैदान ओसिलो मात्रै हैन हिलाम्य पनि हुने गरेको छ ।

त्यसै पनि नयाँ मैदानमा प्रतियोगिता गर्न निकै जोखिम थियो । भारतबाट क्युरेटर बोलाएर विगत तीन महिनादेखि पिच बनाइदै थियो । मैदान नयाँ, विकेट नयाँ भएको कारण खेलाडीहरुलाई केही गाह्रो भएको हुन सक्छ ।

प्रतिकृया दिनुहोस