प्रदेश पाँचमा गाडी किन्दा ५७ लाखभन्दा बढी भ्रष्टाचार !

Pradesh 5

रुपन्देही । पाँच नम्बर प्रदेश र प्रदेश सचिवालयले खरिद गरेका गाडीमा ५७ लाखभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ ।

१५ वटा गाडी खरिदमा ३ लाख ४० हजार रुपैयाँका दरले भ्रष्टाचार भएको निष्कर्ष निकालेको सार्वजनिक लेखा समितिले घोटालामा संलग्न भएका व्यक्ति भने किटान गरेको छैन । समितिले उपभोक्ताले खरिद गर्ने भन्दा बढी मूल्यमा खरिद भएको मध्ये बाँकी रकम प्रदेश सभा सञ्चित कोषमा राख्न निर्देशन दिएको छ ।

समितिले उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी रकम नतिर्नसमेत निर्देशन गरेको छ । समितिले प्रदेश सभा सचिवालय र मन्त्रालयहरुले गाडी खरिद गर्दा प्रयाप्त ध्यान नपुराएको भन्दै नियत माथि नै प्रश्न उठाएको छ ।

सर्वसाधारणले ६८ लाख ५५ हजारमा किन्न पाउने टाटा कम्पनीको स्टोर्म गाडी प्रदेशसभा सचिवालयले ७१ लाख ९५ हजार रुपैयाँ , भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजार रुपैयाँ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७२ लाख ४२ हजारमा खरिद गरेका थिए ।

प्रदेशसभाले ११ र मन्त्रालयले ४ गरी १५ वटा गाडी खरिद भएका छन् । गाडी बिक्री गर्ने कम्पनीले २५ देखि २९ प्रतिशतसम्म बढी रकम असुल गरेको देखिएको सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले बताए । उनले अन्तिम प्रतिवेदन माघ २९ गते प्रदेश सभालाई बुझाउने बताए । गाडी खरिद प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस