बीपीएलमा सन्दीप लामिछानेको तेस्रो खेल आज, कस्तो रहला प्रदर्शन ?

Sansdip sindhuli saugat online

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम सिलेट सिक्सरले आफ्नो तेस्रो खेल शनिबार ढाका डाइनामाइट्ससँग खेल्दैछ । ढाकास्थित शेरे बंगला राष्ट्रिय रंगशालामा हुने खेल साँझ ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

यसअघि दुई खेल खेलेको सिक्सरले एकमा जित र एक खेलमा हार बेहोरेको छ । त्यस्तै, समान दुई खेल खेलेको डाइनामाइट्सले दुवै खेलमा जित निकालेको छ । एक खेलमा जित निकाल्न सफल सिक्सर २ अंकसहित चौथो स्थानमा रहेको छ भने डाइनामाइट्स ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

सन्दीप यसअघिका दुवै खेलमा सिक्सरको पहिलो रोजाइको खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । उनले पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप दोस्रो चितागोङ भिकिन्सविरुद्धको खेलमा कसिलो बलिङ गर्दै कम खर्चन सफल भएपनि विकेटविहीन रहे । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चे ।

बीपीएलमा ८ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका सन्दीपको तेस्रो खेलमा प्रदर्शनमा सुधार अपेक्षा उनका प्रशंसकले गरेका छन् । बिग बास खेल्न अस्ट्रेलिया पुगेका सन्दीप जनवरी १ मा बंगलादेश फर्किएका थिए । उनले अस्ट्रेलियामा रहँदा मेलबर्न स्टारबाट ४ खेल खेल्दै ८ विकेट लिएका थिए । तीन चरणका खेलसम्म सन्दीप सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा थिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले मे महिनापछि विश्वका विभिन्न फ्रेन्चाईज ट्वान्टी—२० प्रतियोगितामा आफ्नो उपस्थिती अनिवार्य जस्तै बनाइसकेका छन् ।

क्यारेबीयन प्रिमियर लिग, क्यानडाको ग्लोवल टि—२० खेलिसकेका छन् भने अफगानिस्तान प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा पनि आवद्ध भइसकेका छन् । बिग बास खेलिसकेका सन्दीपलाई दिल्ली क्यापिटल्सले यो सिजनका लागि रिटेन गरिसकेको छ । बंगलादेशमा रहेका सन्दीप जनवरी २५ देखि सुरु हुने नेपाल र युएईबीचको एकदिवसीय र ट्वान्टी—२० शृंखलाका लागि युएई पुग्नेछन् ।

नपाल र युएईबीचको शृङ्खला लगत्तै सन्दीप पुनः बंगलादेश अथवा अस्ट्रेलिया फर्किनेछन् । बीपीएलमा सिक्सर प्लेअफ पुगे बंगलादेश फर्किने छन् भने समूह चरणबाट बाहिरिए बिग बास खेल्न अस्ट्रेलिया फर्किनेछन् ।

प्रतिकृया दिनुहोस