ए डिभिजन लिगमा आज मर्स्याङ्दी र फ्रेन्ड्सबिच प्रतिस्पर्धा

Football

काठमाडौं । सहिदस्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा आज मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो हुने खेलमा दुई खेलअघि नै ए डिभिजन लिगको उपाधि जितिसकेको मनाङले आफ्नो अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो ।मनाङ १२ औँ खेलसम्ममा अपराजित छ ।

शतप्रतिशत जित हात पार्दै ३६ अङ्क बनाएको मनाङले अन्तिम खेलमा पनि जित हात पार्दै एक खेल नहारी लिग जित्ने लक्ष्यमा रहँदा फ्रेन्ड्स क्लब भने आफ्नो अन्तिम खेलमा मनाङलाई रोक्दै अन्तिम दुईमा पर्नबाट बच्ने योजनामा हुनेछ ।

आजै हुने अर्को खेलमा न्युरोड टिम (एनआरटी) क्लबले ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।लिगको विजेता मनाङ बन्दा उपविजेता भने संकटा क्लब बनेको छ ।

प्रतिकृया दिनुहोस