ए डिभिजन लिग फुटबल: थ्रीस्टार क्लब तेस्रो स्थानमा, यात्रा सकियो

D5af09l8vf6s16apysbq

काठमाडौं । थ्रीस्टार क्लबले तेस्रो स्थानमा रहेर शहिद स्मारक ए डिभिजन लिग फुटबलको यात्रा सकेको छ । अन्तिम खेलमा आइतबार हिमालयन शेर्पा क्लबमाथि २–० को जित निकाल्दै थ्रीस्टारले तेस्रो स्थानमा रहेर लिग सकाएको हो । थ्रीस्टारलाई जिताउन २८ औं मिनेटमा बुद्धराज लिम्बु र ८९ औं मिनेटमा रञ्जन विष्टले गोल गरेका थिए । 

३६ अंकसहित मनाङ मर्स्याङ्दी क्लबले उपाधि जित्दा संकटा क्लब २८ अंकसहित उपविजेता भएको अवस्थामा २६ अंक जोडेको थ्रीस्टार तेस्रो भएको हो ।

त्रिभुवन आर्मी क्लब चौथो भएको छ । अन्तिम खेलमा मच्छिन्द्र क्लबमाथि ३–० को जित निकाल्दै आर्मी २५ अंकसहित चौथो हुन सफल भयो । आर्मीलाई जिताउन कप्तान भरत खवासले दुई तथा टंकबहादुर बस्नेतले एक गोल गरे ।

लिगमा एक खेलअघि नै सशस्त्र प्रहरीको एपिएफले पाँचौं स्थान सुरक्षित गरेको छ भने अर्को विभागीय टोली नेपाल पुलिस क्लब छैटौं भएको छ । हिमालयन शेर्पा क्लब सातौं, च्यासल युथ क्लब आठौं, सरस्वती युथ क्लब नवौं तथा जावलाखेल युथ क्लब दशौं भएर लिग सकाएका छन् । 

मंगलबार एनआरटीले बीबीसीसंग तथा मनाङ मर्स्याङ्दीले फ्रेन्ड्स क्लबसँग खेलेपछि जारी लिग सकिने छ । सोमबार भने संकटा क्लब र सशस्त्र प्रहरी भिड्दै छन् ।

 

प्रतिकृया दिनुहोस