ए डिभिजन लिगमा आज दुई खेल हुदै

Football

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज (आईतबार) दुई खेल हुदैछ । लिग चरणको अन्तिम खेलमा भिड्न लागेका विभागीय टिम आर्मी र थ्री स्टार क्लबको लक्ष्य शीर्ष तीन भित्र स्थान पक्का गर्नु हुनेछ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबसंग प्रतिस्पर्धा गर्नेछ । उपाधिको बलियो दाबेदार मानिएको थ्री स्टार शीर्ष तीन भित्र पर्न संघर्षरत देखिएको छ ।

संकटासंग पराजित हुँदै उपविजेता बन्न बञ्चित थ्री स्टारलाई शीर्ष तीनभित्र पर्न हिमालयन शेर्पालाई पराजित गर्नैपर्ने दबाब छ । हिमालयन शेर्पा समेत लिगको अन्तिम खेलमा थ्री स्टारलाई हराउँदै शीर्ष ६ भित्र रहँदै लिगको अन्त्य गर्न चाहन्छ ।

थ्री स्टार २३ अंक सहित तेस्रो स्थानमा छ । शेर्पा १७ अंक सहित सातौ स्थानमा रहेको छ । एपीएफको हलचोक मैदानमा सोही समय हुने अर्को खेलमा त्रिभुवन आर्मी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तालिकाको पुछारमा रहेको मछिन्द्रलाई हराउँदै आर्मी शीर्ष तीनमा आफ्नो दाबेदारिता प्रस्तुत गर्न चाहन्छ । उपाधि होडबाट बाहिरिसकेपछि उसले शीर्ष तीनभित्र पर्ने लक्ष्य रहेको बताउँदै आएको थियो ।

थ्री स्टारको हारको समिकरण र मछिन्द्रमाथिको जितले आर्मीलाई शीर्ष तीनमा राख्ने सम्भावना बाँकीनै छ । आर्मी २२ अंक सहित चौथो स्थानमा छ । मछिन्द्र ७ अंक सहित १३ औ स्थानमा छ ।

मछिन्द्र समेत आर्मीविरुद्व जित निकाल्दै ऋणात्मक अंकबाट मुक्त हुन चाहन्छ । आर्मीसंगको हारले मछिन्द्रले अर्को सिजन कम्तिमा एक अंक ऋण बोकेर लिगको सुरुवात गर्नुपर्नेछ ।

 

प्रतिकृया दिनुहोस