कांग्रेसको विधानको मस्यौदा र राजनीतिक, साङ्गठनिक प्रतिवेदन आज पारित हुने

Congress meeting


काठमाडौं । नेपाली काँग्रेसको विधानको मस्यौदा र राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन आज पारित हुने भएको छ । बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट उपसभापति बिमलेन्द्र निधिले पेस गरेको राजनीतिक तथा साङ्गठिक प्रतिवेदन पारित गर्ने तयारी भएको नेता प्रकाशसरण महतले जानकारी दिए ।

प्रतिवेदनको बारेमा जारी छलफल अन्तिम चरणमा पुगेकाले बिहानको छलफलपछि पारित गरिने उनको भनाइ छ । नेता महतका अनुसार आज साँझसम्ममा पार्टीको विधान पनि पारित गर्ने तयारी भएको छ । पार्टीको महासमिति बैठकमा पेश गर्ने भएका कारण विधानको बारेमा आजै सहमति गर्ने बाध्यतामा काँग्रेस नेतृत्व छ । विधानका कतिपय व्यवस्थाप्रति काँग्रेसभित्र फरकफरक धारणा आएपछि एउटै मत बनाउने गरी सहमति खोज्न नेताहरु आन्तरिक संवाद गरिरहेका छन् ।

सहमतिका लागि संस्थापन पक्षबाट उपसभापति बिमलेन्द्र निधि र रामचन्द्र पौडेलपक्षबाट नेता अर्जुननरसिंह केसीलाई जिम्मेवारी दिइएको थियो । जारी केन्द्रीय समिति बैठकमा विधानमाथि धारणा राख्ने क्रममा पार्टीका वरिष्ठ नेता पौडेल पक्षले सदस्यता वितरण, निर्वाचन प्रणाली, पदाधिकारी मनोनयनलगायतका विधानका झण्डै आधा दर्जन विषयलाई संशोधन गरेरमात्रै महासमिति बैठकमा पेश गर्नुपर्ने अडान लिएको छ ।

प्रतिकृया दिनुहोस