कांग्रेसको निष्कर्ष : छलछाम र धोखाधडी भयो

Nc miting

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकार लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय हुँदै लोकतन्त्रले प्रदान गरेका अधिकार र अवसर प्रयोग गरेर एक दलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको आरोप लगाएको छ ।

कांग्रेसले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक पद्धतिमा सहभागितालाई छलछाम र धोखाधडीको संज्ञा पनि दिएको छ । कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै कम्युनिस्ट सरकार छलछाममा लागेको आरोप लगाए ।

कांग्रेसले कम्युनिस्ट पार्टी सत्तामा आएको मौका छोपेर शिक्षामा जनवादीकरण सुरु भएको आरोप पनि लगाएको छ । ‘कतिपय विद्यालयमा नेपालका कम्युनिष्ट नेताहरुको तस्वीर पुस्तकको मुखपृष्ठमा नै छाप्ने, लोकतान्त्रिक शक्तिलाई अपमानित गर्ने र सुनियोजितरुपमा मार्क्सवाद पढाउने काम गर्न लागिएको छ’ कांग्रेसले भनेको छ ।

‘लोकतन्त्रको पहरेदार नेपाली कांग्रेस कम्युनिस्टको लोकतान्त्रिक प्रक्रियामा सहभागिता एउटा छलछाम र धोखाधडी हो कि भन्ने संशय गर्न बाध्य भएको छ’, भनिएको छ, ‘वर्तमान कम्युनिस्ट सरकार लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय हुँदै लोकतन्त्रले प्रदान गरेका अधिकार र अवसर प्रयोग गरेर एक दलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको अनुभव हुन्छ । तर यो सर्वसत्तावादलाई नेपाल कम्युनिस्ट पार्टीको सरकारले परित्याग गरेको खण्डमा नेपाली कांग्रेस वर्तमान संविधानको रक्षा, सुशासन, राजनीतिक स्थीरता र विकास तथा प्रगतिका पक्षमा सहयोग गर्न भने खुला छ ।’

‘लोकतन्त्रका मूल्यमा पहिले सहमत भएर पुनः हिंसा, आतङ्क र द्वन्द्वको मार्गतर्फ उन्मुख अन्य कम्युनिष्ट समुहलाई जनताका अधिकारको रक्षा गर्ने र समतामूलक समाज निर्माणको स्पष्ट लक्ष्यकासाथ स्थापित वर्तमान राजनीतिक प्रणालीमा सहभागी हुन र हिंसा र द्वन्दहरु सिर्जना नगर्न आग्रह गर्दछ’ सो प्रतिवेदनमा भनिएको छ, ‘त्यस्ता समूहलाई हिंसाको भविष्य छैन शान्तिको विकल्प छैन भन्ने सत्यलाई बोध गरी संविधानसभाद्वारा निर्मित वर्तमान संविधानको सम्मान र पालना गर्दै संवैधानिक प्रक्रियामा सहभागी भएर देश विकास एवं जनअधिकारको रक्षामा लाग्न यो महासमिति वैठक आह्वान गर्दछ ।’

कांग्रेसका कुनै पनि सदस्य तथा नेताहरूले जातिय छुवाछूत गरेमा उनीहरूको पार्टी सदस्यता खारेज गर्ने भएको छ । मंगलबार प्रस्तुत गरिएको राजनीति प्रतिवेदनमा छुवाछूत गर्ने सदस्यहरूको सदस्यता खारेज हुने छ भने नेताहरूलाई कारबाहीसहित सदस्यता पनि खारेज गरिने छ ।

कांग्रेसले सरकारका राम्रा काममा सघाउने निर्णय गरेको छ । कांग्रेसका हरेक तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनेदेखि आदिवासीलगायतलाई पार्टीमा समावेशीताको हिसावले प्रतिनिधित्व गराउने पनि प्रतिवदेनमा समेटिएको छ ।पहिलेदेखि जस्तै अहिले पनि नेतृत्वमा मधेशलाई समावेश गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राष्ट्रहितलाई ध्यान दिने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि पहल गर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

प्रतिकृया दिनुहोस