आलोचनाका लागि सरकारको आलोचना गर्ने प्रवृत्ति उचित होइन : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचनाका लागि आलोचना गर्ने प्रवृत्ति उचित नभएको बताएका छन् । 

उनले भने, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र सम्पर्क सञ्जालको विस्तारमा महत्वपूर्ण सम्झौता भएका छन् । त्यसले देश भूपरिवेष्ठित होइन, जमीनबाट जोडिएको देशमा परिणत भएको छ ।”

कागेश्वरी मनहरा नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई श्क्रबार सम्बोधन गर्दै उनले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताए ।

काठमाडौंलाई केन्द्रमा राखेर चीन र भारतबाट रेल सञ्जालको विस्तार गर्ने विषयमा महत्वपूर्ण सम्झौता भएको र कार्यान्वयनको प्रक्रियामा समेत गएको भन्दै उनले आगामी केही वर्षमा त्यसको वास्तविक प्रगति देखिने उल्लेख गरे ।

सरकार गठन भएपछि विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय हटेको, डुबान समस्या समाधानका लागि पहल भएको, करीब आधा दर्जन स्थानबाट हवाईजहाज प्रवेश गर्न पाउनेजस्ता सहमति भएको भन्दै उनले केही पनि भएन भनेर गलत प्रचार गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने,, “प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै ११ वर्षदेखि विराटनगरमा बस्दै आएको दूतावासको सम्पर्क कार्यालय हटेको छ । सिमराको आकाशबाट मात्रै नेपाल जहाज प्रवेश गर्न पाउने अवस्था थियो, त्यसको समेत सुधार भएर आधा दर्जन स्थानबाट प्रवेश गर्न पाउने व्यवस्था भएको छ । डुबानको समस्या समाधान हुने क्रममा छ । यी सरकारका महत्वपूर्ण उपलब्धि हुन् ।”

यस्तै चीनसँग व्यापार तथा पारबहन सम्झौता भई नेपालले विभिन्न सात वटा बन्दरगाहसमेत प्रयोग गर्न पाउने सहमति हुनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो ।

सरकारले क्रमशः विकास, निर्माण, आर्थिक समृद्धि र सम्पर्क सञ्जालको विस्तारलाई विशेष प्राथमिकतामा राखेको भन्दै अध्यक्ष दाहालले सरकारको सकारात्मक काम कारवाहीलाई जनतासमक्ष पु¥याउन र जनतमतलाई थप बलियो बनाउनसमेत नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत, चीनजस्ता छिमेकी देशको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताले जनतामा समेत नयाँ खालको उत्साह पैदा भएको र कम्युनिस्ट पार्टीको सरकार जनताको सुख दुःखमा साथ दिन्छ भन्ने तथ्यसमेत स्थापित भएको बताए ।

विगतमा कुनै पनि सरकार स्थिर हुन नसक्दा जनताले दुःख पाएको र राष्ट्रसमेत समस्यामा परेको भन्दै उनले नेपाली जनताले कम्युनिस्ट पार्टीप्रति गरेको विश्वासलाई अक्षरशः कार्यान्वयन गरेर देखाइने दृढता व्यक्त गरे ।

 

 

प्रतिकृया दिनुहोस