वामदेव भन्छन्ः वाम गठबन्धनको घोषणापत्र कार्यान्वयन गर्न म सांसद हुन जरुरी

Bamdev gautam 2

काठमाडौ‌ । काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर संसदमा प्रवेश गर्न खोजेका नेकपाका नेता वामदेब गौतमले वाम गठबन्धनको घोषणा पत्र कार्यान्वयन गर्न आफू सांसद हुनुपर्ने बताएका छन् ।

वाम गठबन्धनको महत्वाकांक्षी चुनावी घोषणापत्र गौतमले नै बनाएका थिए ।

उनले चुनावी घोषणापत्रअनुसार पार्टीको नीति कार्यान्वयनका लागि आफूले सांसद बन्ने रुचि देखाएको बताएका छन् । गौतम काठमाडौं ७ खाली हुने भएपछि उत्साही बनेका छन् ।

‘मैले पहल गरेको होइन, उहाँ (रामवीर मानन्धर) ले नै वामदेवजस्तो व्यक्ति संसद्मा जरुरी छ, देश र पार्टीका निम्ति आवश्यक भएकाले राजीनामा दिएर मेरो क्षेत्रबाट जिताएर ल्याउन तयार छु, यसका लागि अनुमति दिइयोस् भनेको पत्र सचिवालयमा पेस गर्नुभएको हो,’ गौतमले भने, ‘उक्त पत्रबारे अब आउने बैठकमा निर्णय हुन्छ, त्यसपछि पार्टीले के भन्छ, त्यहीअनुसार अघि बढ्छु।’

मानन्धरको राजीनामा आएपछि आफूले चुनावको विषयमा औपचारिक मुख खोल्ने गौतमले बताए ।

चुनाव हारेको व्यक्ति एउटा चुनाव अवधि नसकिँदै किन संसद्मा जाने आवश्यकता पर्‍यो ? भन्ने प्रश्नमा उनले ‘आफू विकासका काम गर्ने गरी जाने र संसद्मा धेरै प्रभावकारी काम हुने’ बताए ।

‘हामीले घोषणापत्रमा उल्लेख गरेका विषय कार्यान्वयन गरेर देखाउने थिएँ,’ उनले भने । नेकपाको चुनावी घोषणापत्र बनाउने संयोजक गौतम नै थिए । उनकै डिजाइनमा वाम गठबन्धनका तर्फबाट महत्त्वाकांक्षी घोषणापत्र आएको थियो।

‘यसअघि पार्टीका दुवै अध्यक्ष एउटा शक्तिशाली विकास प्राधिकरण बनाउने र त्यसका प्रमुख प्रधानमन्त्री र मैले सहायक भएर काम गर्ने कुरा भएको थियो,’ उनले भने, ‘त्यस्ता काम पनि संसदभत्रबाट अघि बढाउन सजिलो हुन्छ ।’

विकास निर्माणलाई तीव्रता दिन र घोषणापत्रको सही कार्यान्वयनका लागि भन्दै संसद् छिर्न खोजेका गौतम यसअघि पटकरपटक सांसदरमन्त्री भइसकेका छन्। उनी तीनपटक गृहमन्त्री भए । पटक–पटक सांसद भए ।

चुनाव हारेदेखि नै सांसद बन्ने इच्छा राख्दै गौतम दौडिए पनि अन्य शीर्ष नेताहरू अध्यक्षद्वय ओली तथा दाहाल र वरिष्ठ नेता माधव नेपालले कुनै आपत्ति जनाएका छैनन्।

उनीहरू गौतमलाई ल्याउने पक्षमा नै छन् । त्यसैले सचिवालयमा मानन्धरको पत्रको सहज प्रवेश भयो । त्यस विषयमा आउँदो बैठकबाट निर्णय गर्ने कार्यसूची तय गरिएको छ।

प्रतिकृया दिनुहोस