भारतको दादागिरी विरुद्ध लडेका सुस्ताबासीलाई प्रधानमन्त्रीले दिएनन् भेट

Susta

काठमाडौं । झण्डै दुई सातादेखि सुस्ताबासी राजधानीमा छन्। सुस्ताका समस्या प्रधानमन्त्री केपी ओलीलाई प्रत्यक्ष अवगत गराउने उत्साह बोकेर काठमाडौ आएका सुस्ताबासी प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयासमा रहेपनि भेट नपाएपछि निराश बनेर फर्किन लागेका छन् ।

सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले चन्दा उठाएर जुटाएको खर्च सकिएको र कतिपय साथीहरु बिरामी पर्न थालेकोले आजै रातीको टिकट काटेको जानकारी दिए ।

उनले यो सरकारले सुस्ताबासीलाई आफ्ना नागरिक नै नभएको जस्तो व्यवहार गरेकोे आफूलाई अनुभूति भएको बताए । यो सरकारले पनि आफ्ना समस्या नसुने कुनैपनि सरकारले नसुन्ने सुस्तावासीको गुनासो छ ।

गत असोज ९ गते सुस्ताबासीका विभिन्न समस्या बोकेर ३० जनाको टोली डेलिगेसनका रुपमा काठमाडौँ आएको थियो ।

उनीहरुले उपराष्ट्रपति नन्दबहादुर पुनदेखि मन्त्री, सांसद, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई पनि भेटे । तर, कसैबाट पनि आफ्ना समस्या सम्वोधनमा ठोस पहल गर्ने प्रतिवद्धता नआएको संघर्ष समितिका अध्यक्ष गोपाल गुरुङले भने ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीलाई भेट्ने समयको लागि पहल गरिरहेको बताएको छ ।

काठमाडौ आउनुअघि सुस्ताबासीले गाउँका प्राय सबै घरमा चन्दा उठाएर खर्चको जोहो गरेका थिए । ‘तर त्यो पैसा पनि सकियो अब घर फर्कनुको विकल्प भएन । त्यसैकारण आजै फर्कन लागेका हौ’ अध्यक्ष गुरुङले जानकारी दिए ।

उनीहरुले सुस्ता भूमि बचाउन र सुस्ताबासीका समस्या सामाधान गर्न ‘सुस्ता बचाउ अभियान संघर्ष समिति’ नै गठन गरेर पटक पटक आन्दोलन र दवाव दिँदै आएका छन् ।
‘कतिपय बेलामा भारतीयहरुसँग झडपनै हुने गरेको छ तर हाम्रो सरकारले सुनेन’ टोलीका सबैको यहि गुनासो छ ।

झण्डै १३ दिन काठमाडौमा रहँदा टोलीले पालै–पालो गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र सम्बन्धित मन्त्रीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरे ।

‘मन्त्री बाहेक अन्य दलका नेताहरुलाई पनि समस्या जानकारी गरायौ’ तर अब निरास हुँदै फर्कनुको विकल्प देखेनौ’ अभियानका अध्यक्ष गुरुङ्गले सुनाए । उनले भने, ‘सुस्ता समस्या सामाधान गराउने सुस्ताबासीको ठूलो सपना छ ।’

४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भूमि हाल साँघुरिएको छ । हाल सुस्ता गाउँपालिका बनेको यो क्षेत्र नारायणी नदीपारी भारतको विहार प्रदेश भंसालोटन बजारसँग जोडिएको सिमावर्ती गाउँ भनेर चिनिन्छ ।

सुस्ता गाउँमा जग्गा अतिक्रमण, भारतीयसँगको सीमा विवाद, नागरिकता नपाउने, भौतिक पूर्वाधार अभाव, सुरक्षा, झोलुङ्गे पुल, तटबन्ध, खानेपानी, विजुली, बाटोघाटो, स्वास्थ्य लगायतका दर्जनांै समस्या छन् ।

सुस्ताबासी यस्तो डेलिगेशन बोकेर योसहित १० पटक सिंहदरबार पुगिसेकेका छन् । धेरै पटक धाउँदा पनि समस्या सामाधान नभएकाले सुस्ताबासीको निराशा निरुपण हुन नसकेको उपाध्यक्ष खानले बताए ।

सुस्तामा कुल ८५ घरधुरी छन् । यति घरधुरीमा ३ हजार १३३ जनसंख्या छ जसमध्ये २९५ जनाले मात्र नागरिकता पाएका छन् ।

९० प्रतिशत जनसंख्या अझै नागरिकताविहीन छ । ४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भूमि १४ हजार ५ सय हेक्टर क्षेत्रफल अतिक्रमण भइसकेको छ भने १९ हजार ४८० हेक्टर क्षेत्रफल वनजंगल र विवादमा छ । बाँकी ७ हजार हेक्टर क्षेत्रफलमा मात्र सुस्ताबासीले जोतभोग गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...