पूर्व प्रहरी महानिरीक्षक खरेलको पुस्तक सार्वजनिक

Kharel ko atma katha book

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको आत्मकथा शनिबार विमोचन भएको छ ।प्रथम राष्ट्रपति रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारी (माओवादीद्वारा हत्या गरिएका प्रहरीकी श्रीमती)लाई हस्तान्तरण गर्दै पुस्तक विमोचना गरिएको हो ।

प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी क्लबमा आयोजित समारोहमा विमोचन अघि खरेलले राजनीतिशास्त्री हरि शर्मासँग संवाद गर्दै पुस्तक लेख्नुपर्नाको कारण खुलाएका थिए ।

‘जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र माओवादी द्वन्द्व नेपाली इतिहासकै महत्वपूर्ण घटना हुन् जसमा म प्रहरी अधिकृतका रुपमा सक्रिय रहेँ,’ संवादमा खरेलले भने, ‘यी ऐतिहासिक घटनामा मैले देखे–भोगेका तथ्यहरुलाई इमान्दारिपूर्वक सबैका सामू पेश गरेको हुँ ।’

पुस्तकको सुरुवातै माओवादीको दुनै आक्रमणबाट भएको छ जसका कारण खरेलले प्रहरी प्रमुखबाट राजीनामा दिनुपरेको थियो । त्यसअघि पनि उनी दोश्रो पटक आइजीपी नियुक्त गरिएका थिए ।

‘नेपाल प्रहरीको इतिहासमै दुइपटक आइजीपी हुने एक्लो ब्यक्ति पनि म मात्रै हुँ,’ खरेलले भने, ‘यो सब किन र कसरी भएको थियो भन्ने यथार्थ विवरण नराखिदिँदा अरु कसैले गलत ब्याख्या नगरिदिउन् भन्ने हिसाबले पनि किताब लेखेको हुँ।’

मुलुकमा खुलापनसँगै विभिन्न संगठनहरुमा भएका राजनीतिकरणले गर्दा ती संगठनहरु ‘प्यारालाइज’ हुँदै गएको समेत उनले बताए । पछिल्लो समय संगठनमा आफूभन्दा व्यावसायिक र तालिमयुत्त अधिकृतहरु हुँदाहुँदै पनि अति राजनीतिकरणकै चपेटामा परेर संगठनको कार्यक्षमतामै प्रश्नचिन्ह उठ्दै गएको उनले प्रष्ट पारे ।

आफू सक्रिय रहेको कालखण्डमा मुलुकले भोगेका घटनाहरुको बास्तविकताले सदैव उकुसमुकुस बनाएको र यो पुस्तक सार्वजनिक गरेपछि बल्ल आफूले हल्का महशुस गरेको पनि उनले उल्लेख गरे ।

‘पुस्तकमा यथार्थ राख्न खोज्दा कतिपयलाई नमिठो लाग्ने सन्दर्भ आएको हुनसक्छ,’ खरेलले भने, ‘मुलुक र संगठनले भोगेका घटना दर्शाउँदै आगामी पुस्तालाई सजग बनाउन इमान्दार हुनुपरेको हो ।’आफ्नो कसै प्रतिपनि आग्रह वा पूर्वाग्रह नरहेको पनि उनले प्रष्ट पारे ।

खरेल कुनै समय नेपालको राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन् । फुटबल खेल्ने मोहले गर्दा नै नियतिले डोर्याएर आफू प्रहरी बन्न पुगेको र कर्मले आइजीपी सम्म पुर्याएको उल्लेख गरे ।

‘एउटा खेलाडी जहिले पनि अनुशासित मात्र होइन विषम परिस्थितीसँग लड्ने, कहिल्यै हरेस नखाने र जस्तै प्रतिकूल परिस्थितीमा पनि जितेरै छाड्ने मनोबलले डटिरहेको हुन्छ,’ उनले भने, ‘खेलकूदबाट पाएको त्यही ज्ञानले मलाइ जहिल्यै डटेर परिस्थितीको सामना गर्न सिकाएको थियो ।’

कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले मुलुकको महत्वपूर्ण घटनाक्रमका साक्षी खरेलको अनुभव नयाँ पुस्ताका नेपालीहरुको निम्ति उपयोगी हुने उल्लेख गरे ।

खरेलसँगको संवादअघि राजनीतिशास्त्री शर्माले पुस्तकको विश्लेषण गर्दै एउटा प्रहरी अधिकृतको जीवनी हुँदाहुँदै पनि यो समकालीन नेपाली राजनीति, नेतृत्व र समग्र नेपालको दर्पण बन्न पुगेको उल्लेख गरे ।
कार्यक्रममा द्वन्द्वका बेला ज्यानगुमाएका प्रहरीहरुको मृत्यु आफ्नो जीवनकै दुःखद् घटनाको रुपमा अथ्र्याइरहँदा खरेल भावुक बन्न पुगेका थिए ।

उनी बोल्दाबोल्दै अड्किए । कार्यक्रमको अन्त्यमा खरेलले यस पुस्तकबाट प्राप्त रकम अमर प्रहरीका परिवार र तिनका केटाकेटीको शिक्षा दीक्षाका निम्ति प्रदान गर्ने जानकारी दिए ।

समारोहमा राजनीतिज्ञ, पूर्व मन्त्रीहरु, पूर्व सेनापति र प्रहरीका वर्तमान एवं अवकाश प्राप्त अधिकृतहरुको उल्लेख्य उपस्थिती थियो । पस्तकको पातलो गाताको मूल्य ६६५रुपैयाँर मोटो गाताको मूल्य९९५
रुपैयाँराखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...