नेकपामा ओली–प्रचण्डलाई चुनौतीः नेपाललाई बामदेब र नारायणकाजीसहित आधा स्थायी समिति सदस्यको साथ

Madhav nepal

काठमाडौँ । नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी नेतृत्व र सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन् । नेता नेपालले शुक्रबार चियापान आयोजना गरी शक्ति प्रदर्शन गर्नुका साथै सरकार र पार्टी नेतृत्वलाई च्यालेन्ज गरेका छन् ।

नेपालले आयोजना गरेको चियापानमा केन्द्रीय सचिवालयका थप दुई सदस्यहरुले नेपाललाई साथ दिएका छन्। प्रदेश नेतृत्व तोक्ने ५ असोजको केन्द्रीय सचिवालयको बैठकप्रति असन्तुष्ट बरिष्ठ नेता नेपालले आयोजना गरेको चियापानमा बामदेब गौतम र नारायणकाजी श्रेष्ठले साथ दिएका हुन्।

स्रोतका अनुसार ४९ सदस्यीय नेकपा स्थायी समितिका झण्डै आधा जति सदस्य नेता नेपालले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा नेता नेपालले मुलुक र पार्टी दुबै गम्भीर अवस्थाबाट गुज्रिरहेको बताउँदै यस्तो बेला पार्टीको बैठक व्यवस्थित रुपमा हुन नसकेकोमा आक्रोस पोखेका थिए ।

‘एकातिर सिके राउत जस्ता बिखण्डनकारीहरु सक्रिय छन्, अर्कोतिर बिप्लब जस्ता उग्रवादीहरु’ नेपालले भेलामा भने, बलात्कार, हत्या जस्ता घटना बढेका छन्। तर सरकार र पार्टीको नेतृत्वले यसतर्फ उचित ध्यान दिएको छैन।’

देखिएका समस्या समाधान गर्न पार्टीको व्यवस्थित बैठक आयोजना गर्नुपर्नेमा त्यो नभएको बताउँदै नेता नेपालले असन्तुष्टि व्यक्त गरेका थिए ।

नेपालको कुरामा गौतम र श्रेष्ठले पनि सहमति जनाउँदै छिटो भन्दा छिटो स्थायी समितिको बैठक डाक्नु पर्ने कुरामा आफूहरुको पनि सहमति रहेको बताएका थिए ।

नेता नेपालले सचिवालय बैठकले विधान विपरितका निर्णयहरु गरेको बताउँदै आएका छन् ।

नेकपाको विधानले केन्द्रीय सचिवालयलाई केन्द्रीय कार्यालय सञ्चालन गर्ने, केन्द्रीयस्तरबाट गरिनुपर्ने कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने, केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटी बैठकका कार्यसूची सम्वन्धी प्रस्ताव तयार गर्ने, केन्द्रीय विभाग, मातहत कमिटी, संयन्त्र, कार्यदल, मोर्चा संगठन लगायतका कामको प्रतिवेदन नियमित रुपमा प्राप्त गरी मूल्यांकन प्रतिवेदन तयार गर्ने, समसामयीक बिषयहरुमा पार्टी निर्णय सार्वजनिक गर्ने लगायत केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीले तोकेका अन्य कामको जिम्मेवारी तोकेको छ ।

त्यो सँगै नेपालले पार्टी एकतापछि भेला बोलाएर अध्यक्षद्धय केपी ओली र प्रचण्डको एकाधिकार तोड्न र आफ्नो शक्ति पनि प्रदर्शन गरेका छन् ।

प्रतिकृया दिनुहोस