राजधानी र नामाकरण विरुद्ध डोटीमा पनि बन्दको घोषणा

Dipayal

काठमाडौं । प्रदेश ७ को राजधानी र नामाकरण विरुद्ध डोटीमा पनि आन्दोलन सुरु भएको छ ।
प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश गर्न गठित संसदीय समितिले गोदावरी राजधानी सिफारिस गरेपछि धनगढीमा सुरु भएको आन्दोलनले डोटीलाई पनि छोएको हो ।

प्रदेशका जनताको भावना बिपरित एकलौटी तवरले राजधानी र नामांकन गरेको भन्दै बुधवार डोटीमा पनि विरोधको कार्यक्रम भएको हो । डोटीका स्थानीयहरुले घर–घरमा कालो झण्डा टागेर विरोध जनाएका हुन् ।

राजधानी र नामाकरणको विरोधमा डोटीमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरिने आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक वहादुर खड्काले जानकारी दिए ।

जस अनुसार बिहीबार (भोली) विरोध -याली सहित जिल्ला प्रशासनमा कोण सभा गर्ने, पिपल्ला बजारमा विरोध प्रदर्शन सहित कोणसभा गर्ने र असोज १२ गतेदेखि अनिश्चितकालिन डोटी बन्द गरिने भएको छ ।

यसअघि बुधवार राजधानी र नामाकरणको विरोधमा धनगढीमा पनि स्थानीयहरुले प्रदर्शन गरेका थिए । प्रदेश ७ को अस्थायी राजधानी धनगढीबाट राजधानी अन्यत्र सार्न लागिएको भन्दै विहीबार धनगढीमा आम हड्तालको घोषणा गरिएको छ ।

यसअघिको क्षेत्रीय सदरमुकाम रहेको दीपायलमा राजधानी हुनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन चलिरहेको छ भने डडेल्धुरमा पनि राजधानी हुनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस