माथिल्लो त्रिशूली–१ परियोजना बारे दक्षिण कोरियाका राजदूत पार्क र उर्जा मन्त्री पुनबीच छलफल

Pun@park

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र दक्षिण कोरियाका राजदूत योङग सिक पार्कबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेट भएको छ । मन्त्री पुनले भेटको क्रममा नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा लगानी बढाउन दक्षिण कोरिया सरकारलाई आग्रह समेत गरेका छन् ।

भेटमा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पुनले कोरियाले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पु-याएको योगदानप्रति सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

उनले ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्नसमेत आह्वान गरे । नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले नेपालमा राजनीतिक स्थायित्वको युग शुरु भइसकेको भन्दै वर्तमान सरकारको प्राथमिकता शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा रहेकाले त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

मन्त्री पुनले चमेलिया जलविद्युत् आयोजना निर्माणमा पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै अमेरिकी डलरको घटबढलाई सम्बोधन गर्न स्थापना गर्ने भनिएको ‘हेजिङ फण्ड’बारे आफूले राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारी राखेर ऊर्जा मन्त्रालयले छलफल गरिसकेको र छिट्टै परिणाम सकरात्मक आउनेमा आफू आशावादी रहेको जानकारी दिए ।

भेटमा राजदूत पार्कले कोरियाली कम्पनीले निर्माण गर्ने तयारी गरिरहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जस्ता परियोजना नेपालको विकासका लागि आवश्यक रहेको भन्दै त्यसको प्रगतिबारे मन्त्री पुनलाई जानकारी गराए ।

उनले हेजिङ फण्डका लागि मन्त्री पुनले गरेको पहलप्रति समेत धन्यवाद व्यक्त गरे ।
भेटमा कोरियन राजदूतले मन्त्री पुनले सार्वजनिक गरेको मार्गचित्रमा १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसका लागिसमेत नेपाललाई वैदेशिक लगानी आवश्यकपर्ने धारणा राखे ।

“तपाईको मार्गचित्र मैले पढेको छु, त्यो एकदमै राम्रो पनि लाग्यो, तर हेजिङ फण्ड बन्यो भने त्यसले वैदेशिक लगानी भित्र्याउन सजिलो हुन्छ र तपाईको सपना पूरा हुन्छ”, राजदूत पार्कले भने । राजदूत पार्कले कोरियन कम्पनीले जिम्मा पाएको माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजना आगामी जनवरीबाट निर्माण शुरु गर्ने जानकारी समेत दिए ।

राजदूतसँगै सहभागी भएका उक्त कम्पनीका प्रतिनिधिलेसमेत परियोजना यथासम्भव र निश्चित समयभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सो परियोजनाले नेपालको विकासमा ठूलो योगदान पुग्ने भन्दै त्यसका लागि ऋण लिने प्रक्रिया शुरु गरिसकेको जानकारी दिए ।

कूल २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ परियोजनामा कोरियन साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत, डेलिम कन्ष्ट्रक्सन कम्पनी लिमिटेडको १६ प्रतिशत, केरुङ कन्ष्ट्रक्शन कम्पनीको १० प्रतिशत, इन्टरनेशन फाइनान्स कर्पको १२ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत शेयर संरचना छ ।

प्रतिकृया दिनुहोस