कामचोर पप्पु कन्स्ट्रक्सनलाई ठेक्का थपिँदै, पक्राउ पुर्जिको नाटक

Pappu

काठमाडौ‌ । पप्पु कन्स्ट्रक्सन बदनाम छ । देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ ।

अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ ।

सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो ।

सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ।

हात परेका अधिकांश आयोजना वर्षौदेखि अलपत्र छन्। एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले पाउने भएको छ। पहिलो पटक पप्पुले भवन निर्माणमा हात हालेको हो।

खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड र एक भवनबाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ।

यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन्। पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन्। पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएको छ। यसमध्ये पाँचको निर्माण अवधि सकिए पनि कार्य सम्पन्न भएको छैन। अन्य दुईको पनि निर्माणकै चरणमा छ।

स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएको छ। यसमध्ये १८ वटाको निर्माण अवधि सकिएको छ। तर निर्माण कार्य सम्पन्न भएको छैन। अन्य आठको निर्माण कार्य समेत सुरु भएको छैन।

सुमित रौनियारलाई पक्राउ पुर्जी
रौतहटमा भएको डुंगा दुर्घटनाको कारण पुल भएको भन्दै निर्माण गर्ने ठेकेदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ।

गत भदौ ८ गते गौर नगरपालिकाको टिकुलिया घाटमा भएको डुंगा दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो। टिकुलिया घाटमा पुलको निर्माण समयअवधिमा सम्पन्न नहुँदा उक्त पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो। उक्त पुलको ठेक्का पप्पुले लिएको छ।

जिल्ला प्रहरी कार्यालयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो। दुघर्टनामा परी पीडित बनेकाहरूले उनीविरुद्ध उजुरी दिएका थिए।

रौतहट प्रहरी प्रमुख एसपी केदार ढकालका अनुसार यसअघि पनि रौनियारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएपनि उनी अटेर गरी बसेका थिए। पछिल्लो समयमा अदालतबाट अनुमति लिएर पुनः पक्राउ पुर्जी जारी गरिएको हो।

पप्पुलाई कालोसूचीमा राखः सांसद
सांसदहरूले सडक तथा पुल निर्माणको क्षेत्रमा बदनामी कमाएका पप्पू कन्स्ट्रक्सनलाई ‘कुख्यात खराब निर्माण कम्पनी’ अन्तर्गत कालोसूचीमा राख्न माग गरेका छन्।

पप्पुले हालसम्म निर्माण गरेका सडक तथा पुलको गुणस्तर खस्किएको तथा समयमा पूरा नगरेको भन्दै सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन्।

मंगलबार बसेको संघीय संसद्का दुई समिति विकास तथा प्रविधि समिति तथा अर्थ समितिका सांसद पप्पु कन्स्ट्रक्सनविरुद्ध कडा रूपमा खनिएका थिए। सरकारले जानाजान निर्माणको जिम्मेवारी पप्पुलाई दिएको भन्दै उनीहरूले सरकारको कडा आलोचनासमेत गरे।

प्रतिकृया दिनुहोस