नेपालले अनुमोदन गर्यो ‘शान्ति विश्वविद्यालय स्थापनाको अन्तर्राष्ट्रिय सम्झौता’

Sansad bhaban

काठमाडौं । नेपालले शान्ति विश्वविद्यालय स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको छ । कोस्टारिकास्थित शान्ति विश्वविद्यालयमा प्रधानमन्त्री केपी ओलीले एउटा कार्यक्रमलाई सम्बोधन गर्नुपूर्व नेपालले पनि सो सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको हो ।

संयुक्त राष्ट्रसंघको सहयोगमा जापान र कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना भएको छ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १२ गते कोस्टारिका पुगि त्यहाँस्थित शान्ति विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पास गरेको हो ।

शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथिको छलफलमा सहभागी हुदै सांसद प्रेम सुवालले शान्ति विश्वविद्यालय बनाउने कुरा राम्रो भएपनि पाठ्यक्रम राम्रो बन्न सकेन भने अपेक्षाकृत उपलब्धि नहुने भन्दै पाठ्क्रम निर्माणमा उचित ध्यान दिनुपर्नेमा जोड दिए। उनले साम्राज्यवाद र पूँजीवादको समाप्त नभएसम्म शान्ति सम्झौता अनुमोदन गर्दैमा शान्ति नआउने तर्क पनि गरे ।

सांसद पुष्पा भुसालले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन गर्नु अगाडि विश्वविद्यालयको पाठ्क्रमलाई छलफलको विषय बनाईनुपर्ने बताइन् । कुनै पनि नेपाली नागरिक अन्तर्राष्ट्रिय शान्ति विश्वविद्यालयमा पढेर आईसकेपछि शिक्षा मन्त्रालय वा नेपालको विश्वविद्यालयको राय के हुने भन्ने बारे पहिले नै स्पष्ट हुनु जरुरी रहेको उनले बताइन् ।

सांसद नवराज सिलवालले नयाँ पुस्तालाई द्वन्द्व अन्त्य गर्दै शान्ति स्थापनामा लिनुपर्ने नेतृत्व र सक्रियता अघि बढाउने सन्र्दभमा कोस्टारिकाको शान्ति विश्वविद्यालयले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

उनले नेपालले लामो समय देखि अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनामा संयुक्त राष्टसंघलाई सहयोग पुर्याउँदै आएको परिवेशमा सम्झौता पास गर्दा अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढ्ने पनि बताए ।

सांसद देव गुरुङ्गले महासन्धि पास गर्ने प्रस्ताव सकारात्मक भएपनि अंग्रेजी अनुवादमा कतिपय भाषाहरु अस्पष्ट भएकाले स्पष्ट पारेर अघि बढ्नुपर्ने सुझाव दिए ।

परराष्ट्रमन्त्रीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए । सांसदहरुले प्रस्तावमाथि उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले अन्तर्राष्ट्रिय सम्झौताको नेपाली अनुवादमा देखिएका भाषागत त्रुटीलाई सच्याईने र प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताए ।

प्रतिकृया दिनुहोस