टेम्पो ड्राइभर स्वस्तिमा !

Bulbul swatima

काठमाडौं । स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘बुलबुल’ को २५ दिनमा छायांकन सकिएको छ।

साउनको अन्तिम हप्ताबाट सुरु भएको फिल्म निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ। निर्देशक विनोद पौडेलले फिल्मको काम सकिएको बताए।

फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन्। उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन्। फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन्।

‘साँघुरो’ का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो। फिल्मले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गर्नेछ।

सुटिङ पूरा भएसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। निर्माता अविरल थापाले फिल्म भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने बताए। ‘फागुन ३ गते फिल्म रिलिज गर्ने निर्णय गरेका छौं, ‘थापाले भने, ‘डायस्पोराका केही देशमा प्रिमियर गरेर रिलिज गर्ने योजनामा छौं।’

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयश पाण्डे, आशिका पाण्डेलगायत कलाकारको अभिनय छ। सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन्। फिल्ममा कोसिस क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर छ। फिल्म पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडल मिलेर बनाएका हुन्।

प्रतिकृया दिनुहोस