प्रचण्ड र मोदीबीच भेटवार्ता, धार्मिक सर्किट बनाउन दुबै नेता सहमत

Prachanda ra modi

काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त भेटमा उनिहरुबिच धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठको एक बृहत्तर ‘सर्किट’ बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा छलफल भएको थियो ।

पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणका सम्भावनाबारे पनि छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

नेपालमा जलविद्युत्को विकास, हुलाकी मार्ग, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको विषयमा समेत उनिहरुबिच छलफल भएको थियो ।सो अवसरमा उनिहरुबीच नेपाल–भारत सीमामा बेलाबखतमा देखिने समस्याको समाधान र सीमा क्षेत्रका भन्सारको स्तरोन्नतिको विषयमा पनि विचारविमर्श भएको थियो ।

दुई देशको आपसी हितलाई कसरी थप सुदृढ गर्ने भन्ने विषयमा छलफल गर्दै उनिहरुले पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारी र सहमतिलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा गम्भीर छलफल भएको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीका रुपमा भारतको भ्रमण गर्दा भारतले गर्ने भनिएको सहयोगलाई मूर्त रुप दिने सम्बन्धमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीका रुपमा अध्यक्ष दाहालको भ्रमणका क्रममा कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

करीब एक घन्टा भएको भेटवार्तामा उनिहरुले दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाउने प्रतिबद्धता र संकल्प गरेका थिए ।

प्रतिकृया दिनुहोस