गोपनियताका नाममा सार्वजनिक पदधारण गरेकाको विवरण लुकाइँदै

गृहमन्त्री भन्छन्ः ‘सार्वजनिक गर्छौं’

Sangiya sansad n

काठमाडौं । सांसदहरुले गोपनियताका नाममा सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण सरकारले लुकाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘वैयक्तिक गोपनियताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकारको बदनियतप्रति आलोचना गरेका हुन् ।

बैठकमा समितिका सदस्यहरुले विधेयकमाथि संशोधन प्रस्ताव राख्दै सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको विवरण सार्वजनिक गर्ने प्रावधान विधेयकमा नआएको भन्दै सरकारको चर्को आलोचना समेत गरेका थिए । समितिका सदस्य एवम् निवर्तमान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सार्वजनिक पदधारणा गरेका न्यायालयका व्यक्तिहरुको पनि सम्पत्ति लगायतका विवरण सार्वजनिक हुने गरी विधेयकमा संशोधन गर्न सरकारसँग माग गरे ।

सो विधेयकमाथि ९० वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ । विधेयकमा गोपनियताको नाममा सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका सार्वजनिक गर्नुपर्ने प्रावधान नसमेटेकोमा समितिका सदस्यहरुको आपत्ति छ ।

तर, गृहमन्त्री रामबहादुर थापाले गोपनियताको नाममा अपराधिक गतिविधिलाई संरक्षण गर्न सरकारले नदिने बताएका छन् । गृहमन्त्री थापाले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति, शैक्षिक योग्यतालगायतका विवरण पारदर्शी हुने गरी सार्वजनिक गर्ने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले सरकारले सार्वजनिक पदधारण गरेका व्यक्तिको विवरण सार्वजनिक गर्न तयारी गरेको समेत बताए । गृहमन्त्री थापाले सार्वजनिक र पारदर्शिताको माध्यामबाट मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढाउने सरकारले लक्ष्य लिएको पनि समितिलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस