प्रकाण्ड र उमा भुजेललाई उस्तै व्यवहार : अदालत रिहा गर्न आदेश दिने, प्रहरी जिल्ला घुमाउने

Uma bhujel

काठमाडौँ । नेक्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी नेतृ उमा भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ ।

अघिल्लो हप्ता पक्राउ गरिएकी नेतृ भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । तर, सर्वोच्चको आदेशअनुसार रिहा गरे पनि लगत्तै फेरि उनलाई प्रहरीले पक्राउ गरी नुवाकोट लैजाने तयारी गरेको छ ।

सर्वोच्चका न्यायाधीसद्वय शारदाप्रसाद घिमिरे र प्रकाशमानसिँह राउतको इजलासले नेकपा नेतृ भुजेललाई सर्वोच्चका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएको हो ।

पार्टीकी पोलिटब्यूरो सदस्यसमेत रहेकी भुजेललाई प्रहरीले १२ भदौमा पक्राउ गरेपछि उनको तर्फबाट प्रतिमा भुजेलले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । पक्राउ पछि उनलाई काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा कुन्साङ लामाले सञ्चालन गरेको क्रसर उद्योगमा आगजनी गरेको मुद्दा लगाइएको थियो ।

पक्राउ परेपछि तीन पटक म्याद थप गरी उनलाई हिरासतमा राखिएको बताउँदै न्यायाधीशद्वयको इजलासले त्यसलाई गैरकानूनी ठहर गर्दै रिहाईको आदेश दिएको हो ।

सर्वोच्चले रिहाईको आदेश दिएपनि नेकपा प्रबक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले अदालतबाटै गिरफ्तार गरेको थियो ।

प्रतिकृया दिनुहोस