देशमा धर्म परिवर्तनको डडेलो लाग्न थाल्यो : थापा

Kamal thapa pokhara

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा धर्म परिवर्तनको महारोग डढेलोको रूपमा लागिरेहेको बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकी प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले देशलाई धर्म निरपेक्ष बनाएपछि धर्म परिवर्तन सुरु भएको र यसले भयाभह रुप लिइरहेको बताए ।

अध्यक्ष थापाले देशले अवलम्बन गरेको धर्म निरपेक्षता, गणतन्त्र र संघीयता जस्तो गलत नीति र व्यवस्थाका कारण नेपालको अवस्था दयनीय भइरहेको दाबी गरे ।

गणतन्त्र धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोमा शंका रहेन, अध्यक्ष थापाले भने, ‘देशमा हिन्दु राष्ट्र र राज संस्था छलफल र वहस नगरि हटाईएको हुँदा यस त्रुटीलाई सच्याउन सत्तारुढ दल र विपक्षी पार्टीलाई आग्रह गर्छु ।’

‘संविधान लागु भएपछि सिंहदरबारको अधिकार गाउँ गाउँ पुगेको हैन, सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँमा र घर घरमा पुगेको छ’ थापाले भने, ‘दोहोरो तेहोरो करको दरले जनताले जीवन धान्न गाह्रो परेको छ । देशभित्र रोजगारीको सृजना नहसँदा आफ्नै माटोमा बसेर रोजगारी गर्ने नेपाल युवाहरूको सपना चकनाचुर भएको छ ।’

‘नेपाल युवाको रगत र पसिना निर्यात गरेर देश चलाउने ? के यही हो नियती ?’ उनले भने, ‘उनले नेपालमा गरिब र गरिबीको खाडल दिनप्रतिदिन बढिरहेको छ । देशको कुल सम्पत्तिको ९० प्रतिशत १० को स्वामित्वमा रहेको र १० प्रतिशत सम्पत्ति ९० प्रतिशत जनताको स्वामित्वमा रहनु दुःखको कुरा हो ।’

अध्यक्ष थापाले एकताको आवरणमा पार्टीलाई षड्यन्त्रपूर्वक फुटाउने र कमजोर बनाउने कार्यले राष्ट्रवादी शक्तिको रूपमा उदाएको राप्रपा एकै चोटी रसातलमा पुगेको बताए । तर विगतमा कमीकमजोरीबाट पाठ सिकेर राप्रपालाई देशको अग्रणी शक्ति बनाउने थापाले संकल्प गरे ।

कार्यक्रममा राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनले आफैंले अयोग्य घोषणा गरेको व्यक्ति रातारात योग्य हुने, विमानमा घोटालाको आशंका हुँदा र संसदमा आवाज उठ्दा पनि मुकदर्शक बन्ने कार्यले सरकारको विश्वसनीयता दिन प्रतिदिन गिर्दै गएको बताए । उनले प्रवृत्ति कायम रहे वर्तमान सरकार कसैले ढाल्नु नपर्ने, भ्रष्टाचार र आफ्नै अन्तरविरोधले ढल्ने पनि बताएका छन् ।
उनले राप्रपाले लिएको रणनीतिक त्रुटिका कारण निर्वाचनमा असफल हुनु परेको समेत बताए ।

प्रतिकृया दिनुहोस