मुक्त कमैया र हलियाका समितिको म्याद एक वर्ष थपियो, यस्ता छन् मन्त्रिपरिषद बैठकका अरु निर्णय

Pm ofice

काठमाडौं । सरकारले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको छ ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकले शुक्रबार निजामती दिवसको अवसर पारेर पुरस्कृत गर्ने उत्कृष्ट कर्मचारीहरुको नामलाई पनि टुंगो लगाएको युवा तथा खलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए ।मन्त्री परिषद बैठकले जर्मन सरकारबाट प्राप्त करिब ४ अर्ब नौ करोड अनुदान सहायता लिने प्रस्ताव पनि स्विकृत गरेको छ ।

पोखरा–लेखनाथ २ सय २० केभी विद्युत प्रशारण लाईन निर्माणका लागि सो बजेट खर्च गर्ने निर्णय पनि गरिएको मन्त्री विश्वकर्माले बताए। त्यसैगरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ पनि स्विकृत गरिएको छ ।

त्यसैगरी, मन्त्रीपरिषद बैठकले धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । सो अस्पतालको नाम शहीद सुर्यनाथ राम यादव स्मृति अस्पताल राखिने छ ।

मुक्त हलिया पुर्नस्थापना समस्या समाधान समिति र मुक्त कमैया पुनस्र्थापना आयोग लाई कायमै राख्ने र यसै आर्थिक वर्ष भित्र मुक्त हलिया पुर्नस्थापना र मुक्त कमैया पुर्नस्थापना सम्बन्धी सबै समस्या समाधान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस