नेता नचाउने व्यापारी छन्, मैले भनेको कसले टेर्छ : यादव

Matrika yadhav 5

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले ब्यापारीले ठूला नेतालाई नै चलाउन सक्ने भएकोले आफूले भनेको नटेरेको गुनासो गरेको छ ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले दुई पक्षीय लगानी सम्झौताको बारेमा गरेको कार्यक्रममा मन्त्री यादवले बजार अनुगमन गरेर व्यापारी तर्साएको आरोप गलत भएको पनि दाबी गरे ।

‘यहाँ नेता नचाउने धेरै व्यापारी छन्, उनीहरुको पहुँच ठूलो छ, म जस्तो फुच्चे मन्त्रीलाई कसले टेर्छ, मन्त्रीसँग को तर्सन्छ ?’ उनले भने, ‘बजार अनुगमन गरे पनि दोष आउने र नगरे पनि दोष आइरहेकाले वाक्क भएको छु ।’

मन्त्री यादवले नेपालका केही व्यापारीले विदेशी लगानीकर्ता भड्काउने गरेको आरोप पनि लगाए । नेपालमा उद्योगी भन्दा व्यापारी धेरै भएको र आफ्नो व्यापार कमी हुने डरका कारण उनीहरुले विदेशी लगानीकर्तालाई नेपाल छिर्न नदिएको उनको आरोप छ ।

विदेशी लगानीकर्तालाई सहज बनाउन र समस्या समाधानको लागि एउटा समिति बनाएर काम गरिरहेको भन्दै उद्योग मन्त्री यादवले अबको केही महिनामै एकद्वार प्रणालीबाट विदेशी लगानी भित्र्याउन सकिने संरचना बनिसक्ने पनि उनले बताए ।

नेपालमा केही मिडियाले पनि विदेशी लगानीकर्तालाई तर्साउने गरी समाचार प्रचारप्रसार गरिरहेको भन्दै उनले यदि आफूलाई नेपाली ठान्ने हो भने कसैले पनि विदेशी लगानीविरुद्ध गतिविधि गर्न नहुने बताए ।

फरक प्रसंगमा उनले अहिले कर बढेको भन्दै उद्योगी ब्यापारीले विरोध गर्नुको तुक नभएको बताए । ‘कर ब्यापारीले तिर्ने हो कि नागरिकले ? मलाई लाग्छ व्यापारीले त नागरिकबाट कर संकलन गरेर सरकारलाई तिर्ने हो’ मन्त्रीले भने ।

कार्यक्रममा नेपालमा विदेशी लगानीबारे नेपालका विभिन्न मन्त्रालय सहित श्रीलंकाबाट आएका विज्ञले कार्यपत्र पेश गरेका छन् ।

 

प्रतिकृया दिनुहोस