संसद बैठकमा प्रधानमन्त्रीको राजीनामा माग

Sansad parlimentry

काठमाडौं । सरकारले संविधानको उल्लंघन गरेको भन्दै संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलेसंविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वयम् संविधान उल्लंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।

संविधानले नेपाली नागरिकलाई विनारोकतोक हिँडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उल्लंघन गर्दै सरकारले पुर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको उनले दाबी गरे । उनले भने ‘संविधान भन्दा माथि कोही पनि हुदैन, संविधानको उलंघन गर्ने सरकारको औचित्य छैन,म यहीँबाट राजीनामा माग्छु, हामीले राजा बनाएको होइन, प्रधानमन्त्री बनाएको हो, संविधानको उल्लंघन गर्न बनाएको होइन ।’

सरकार स्वएच्छाचारी र निरंकुश बन्दै गईरहेको भन्दै उनले सरकारलाई निरंकुशतातर्फ जानबाट संसदले रोक्नुपर्ने बताए । उनले भने, ‘बाँके निवासीले बर्दियामा एउटा मन्त्रीलाई कालो झण्डा देखाउँछ।

सरकारले कस्टडीमा लिन्छ, सरकारको मान्छेलाई कस्टडीको अर्थ के हो त्यति पनि थाहा छैन, कस्टडीको अर्थ जिम्मा लिने हो, कैद होइन, जिम्मामा सरकारले लिन्छ, जिम्मा लिएर हत्या गर्छ, हत्या गरेपछि सम्बन्धीत पुलिस अफिसरलाई पनि कारवाही हुनुपर्छ, यसको न्यायिक छानविन समिति गठन गरियोस् ।’

मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उनले कानुन अनुसार चल्न सरकारलाई चेतावनी दिए । उनले भने, ‘कस्तो सरकारको, कस्तो संविधानको अभ्यास गर्दैछौँ? बास्तवमा सरकार लोकतान्त्रिक हो कि होइन? सरकारले संविधान मान्नुपर्छ कि पर्दैन? सुरक्षा निकायले मान्नुपर्छ कि पर्दैन?’उनले सरकार र विचौलाबीच मिलेमतो भएका कारण उखु किसानले उखुको मुल्य नपाएको आरोप पनि लगाए।

प्रतिकृया दिनुहोस