बिमस्टेक सम्मेलनमा संयुक्त सैन्य अभ्यासको कुरा थिएन : परराष्ट्रमन्त्री ज्ञवाली

Pradeep sansad oef6lwuhws

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यासको विषयले प्रवेश नै नपाएको स्पष्ट पारेका छन्।

बुधबार संघीय संसद अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने विषय कहीँकतै उल्लेख नभएको स्पष्टिकरण दिएका हुन् ।

मन्त्री ज्ञवालीले नेपालले बिमस्टेकलाई विकासका लागि फराकिलो मंचका रुपमा मात्रै लिन चाहेको पनि स्पष्ट पारे। उनले सरकारले सबै राष्ट्रहरुसँग मित्रतापूर्ण सम्बन्ध कायम गर्ने परराष्ट्र नीति लिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराए ।

बैठकमा समितिका सदस्य एवम् पूर्व गृहमन्त्री भीम रावलले बिमस्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यास गर्ने विषय संचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे जवाफ दिन मन्त्री ज्ञवालीलाई आग्रह गरेका थिए ।

उनले भारतीय विदेश मन्त्रालयको आधिकारिक वेबसाईटले अर्को महिना भारतमा संयुक्त सैन्य अभ्यास र बिमस्टेक सदस्य राष्ट्रहरुको प्रधानसेनापतिहरुको विशेष बैठक बस्ने आशय उल्लेख गर्नुको कारण के हो स्पष्ट पार्न पनि मन्त्री ज्ञवालीसँग आग्रह गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक राहदानी दुरुपयोग नगर्न पनि सांसदहरुलाई सचेत गराए । उनले सरकारले कूटनीतिक राहदानी दूरुपयोग हुन नदिन २ वर्ष भित्र ई– राहदानी’ सेवा संचालन गर्ने तयारी भईरहेको पनि समितिमा जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले कुटनीतिक राहदानी दुरुपयोग गर्ने सांसदहरुको नाम सार्वजनिक गर्न पनि मन्त्री ज्ञवालीसँग माग गरेका थिए ।

प्रतिकृया दिनुहोस