जनताको करमा ब्रम्हलुटः सडक नै नभएको नगरपालिकामा ८० लाखको स्कारपियो

Mayar ko gadi

जाजरकोटको छेडागाड नगरपालिकाले ८० लाखको एउटा स्कारपियो र ६ वटा मोटरसाइकल किनेको छ ।

तर छेडागाडका कुनै पनि वडामा मोटरबाटोको सुविधा छैन । कच्ची सडक सञ्जालसँग नजोडिएको बारेकोट गाँउपालिकाले पनि दुईवटा मोटरसाइकल किनेको छ । 

कुशे गाँउपालिकाले दुई वटा बाइक खरिद गरेको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनले गाउँपालिकालाई सामान्य प्रशासन मन्त्रालयले स्कारपियो दिन सहमति जनाइसकेकाले खरिद गर्नुपर्ने अवस्था नरहेको बताए ।

भेरी नगरपालिकासँग जनप्रतिनिधि आउनुअघि नै खरिद गरिएको एक स्कारपियो गाडी छ । भेरीमा ३ वटा वडाध्यक्षसँग मोटरसाइकल छ ।

नगरले एउटा मेयर, उपमेयरको एक स्कुटी र अरु चारवटा कर्मचारीसँग रहेका गरी ९ मोटरसाइकल खरिद गरेको छ । त्यस्तै नलगाड नगरपालिकाले पनि सात वटा मोटरसाइकल किनेको छ । १३ वटा वडा रहेको नगरपालिकाका अधिकांश वडामा मोटरबाटो पुगेको छैन ।

त्यस्तै शिवालय गाँउपालिकाले एउटा स्कारपियो जिप र १४ वटा बाइक किनेको लेखापाल दीपबहादुर बुढाले बताए । ९ ओटा वडा रहेको गाँउपालिकाका वडा नम्बर ६ र ७ मा अझै मोटरबाटो पुगेको छैन ।

अरु वडामा पनि कच्ची सडक हिउँदमा मात्र चल्छ तर गाँउपालिकाले ५५ लाख रूपैयाँमा गाडी र ३२ लाखमा १४ वटा मोटरसाइकल गरी करिब ८७ लाख रूपैयाँ खर्चेको छ ।

स्कारपियो कारमा गाउँपालिका अध्यक्ष नरेन्द्र शाही चढ्छन्। उनले एउटा मोटरसाइकल पनि आफूसँगै राखेका छन् । ९ वटै वडाध्यक्षले एक–एक वटा मोटरसाइकल बुझेर लगेका छन् ।

बाँकी मोटरसाइकल कार्यकारी अधिकृत, लेखापाल र प्राविधिकले चलाउँछन् । उनीहरू सबैले गाँउमा भन्दा सदरमुकाम, सुर्खेत, नेपालगञ्ज आउँदा–जाँदा प्रयोग गर्ने गरेका छन् ।

जुनीचाँदे–५ का वडाध्यक्षबाहेक अरु जनप्रतिनिधिलाई मोटरसाइकल चलाउन आउँदैन तर उनीहरू चालक राखेर मोटरसाइकल चढ्छन् ।

गाउँपालिका अध्यक्ष शाहीले जनताको काम छिटोछरितो गर्न सहज होस् भनेर गाँउपरिषद् निर्णयअनुसार गाडी खरिद गरिएको बताए । ‘हामीले विलासिताका लागि गाडी र मोटरसाइकल खरिद गरेका होइनौं’, शाहीले भने, ‘समयको माग र आवश्यकताअनुसार किनेका हौँ । यसमा कुनै दुरूपयोग भएको छैन र हुँदैन पनि ।’

यसैगरी, जाजरकोटकै जुनीचाँदे गाउँपालिकाले गत वर्ष नै करिब ३५ लाख खर्चेर १६ ओटा मोटरसाइकल खरिद गर्‍यो । गाउँपालिका प्रमुख, उपप्रमुख, १० वटा वडाध्यक्षलाई एक–एक वटा मोटरसाइकल भागबण्डा गरिएको छ । बाँकी मोटरसाइकल कर्मचारीको जिम्मामा छन् ।

वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीबाहेक कुनै पनि जनप्रतिनिधिलाई मोटरसाइकल चलाउन आउँदैन । उनीहरू सहयोगी चालक राखेर मोटरसाइकलमा चढ्ने गरेका छन् । उनीहरू सबैले ती मोटरसाइकल जिल्ला सदरमुकाम खलंगा, सुर्खेत र नेपालगञ्जमा चलाउँछन् ।

जनताकै काम छिटोछरितो गर्न मोटरसाइकल किनिएको गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए । गाँउपालिकाका सबै वडामा सडक नपुगे पनि बाटो पुगेका वडा र सदरमुकाम आउन–जान तथा कामकाजमा मोटरसाइकलले सहज भएको उनको भनाइ छ । (अन्नपूर्ण पोष्ट)

प्रतिकृया दिनुहोस