मोदी भन्छन्, नेपालमा गौतम जन्मिए, भारतको बोदगयाले बुद्ध जन्मायो

Modi jee 525x300

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले जन्माएको गौतमलाई भारतको बोदगयाले ‘बुद्ध’ बनाएको बताएका छन् ।

शुक्रबार काठमाडौंको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘नेपालको लुम्बिनीले गौतम दियो भारतको बोदगयाले बुद्ध दियो । पशुपतिनाथको यो शहर वौद्धको अनेक स्थानबाट घेरिएका छन् । यो एकदम जोडिएको छ, अन्यौन्याश्रित रहेको छ ।’

प्रधानमन्त्री मोदीले काठमाडौं पशुपतिनाथको शहर भए पनि बौद्धका अनेक स्थानबाट घेरिएको र एकदमै अन्योन्याश्रित सम्बन्ध विकास भएकोप्रति खुसीसमेत व्यक्त गरे ।

मोदीले नेपाल र भारतबीच समय, दूरी र कठिन मार्गले पनि सम्बन्धमा बाधा पार्न नसकेको बताउँदै यो सम्बन्ध दिर्घकालीन रुपमा रहनुपर्ने बताए । उनले भने– ‘कन्यापुरी र काठमाडौंको दुरी हजारौ किमी रहेको छ तर तमिलनाडुमा अहिले पनि पशुपतिको मन्दिरको स्थान रहेको छ ।

मोदीले भने, ‘काशी र काठमाडौंलाई बाबा विश्वनाथ र पशुपतिनाथले जोड्छ, म त सोमनाथको भुमिमा जन्मेको हुँ, अब सोमनाथबाट विश्वनाथ तथा पशुपतिनाथलाई शिवले जोडेको छ ।’

प्रधानमन्त्री मोदीले अयोध्यालाई जनकपुरले जोडेकोसमेत बताए । उनले काठमाडौं र दिल्लीबीच मात्र सम्बन्ध राम्रो भएर नहुने जनता–जनता बीचको सम्बन्धसमेत राम्रो हुनुपर्नेमा जोड दिए ।

उनले जीवनमा एकपटक पशुपतिनाथको दर्शन गर्न आउनैपर्ने बताउँदै शिवभक्तको मनमा सँधै त्यो इच्छा रहिरहने समेत बताए । त्यसैले पनि आफुले केही समयअघि नेपालका तीन धार्मिकस्थल पशुपतिनाथ, मुक्तिनाथ र जनकपुर पुगेको दाबी गरे ।

उनले भारतको विकासमा नेपालीहरुको ठूलो भूमिका रहेको समेत दाबी गर्दै भने, ‘त्यसैले हरेक भारतीयहरुलाई नेपालमा राजनीतिक स्थीरता रहेकोमा खुसी लागेको छ । मित्रको रुपमा भारतको सदभावना र सहयोग सधैं तपाईहरुसँग रहनेछ ।’

उनले भारत नेपालमैत्री धर्माशाला एक भवन र कुनै यात्रीहरुको लागि निवासस्थल मात्र नभई दुबै देशका जनताको मनमा नेपाल र भारत बीचको मित्रता गुन्जिने स्थान भएको बताए ।

प्रतिकृया दिनुहोस