राप्रपा एकीकरणमा पारसको प्रयास, राप्रपाका नेतासँग गोप्य छलफल

Paras

काठमाडौं । पूर्वयुवराज पारस शाह राजनीतिमा सक्रिय हुने संकेत गरेको छन्। लामो समय राजनीतिबाट टाढै रहेका पारसले फुटेका तीनवटै राप्रपा एकीकरण गर्ने प्रयास थालेका हुन् ।

बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा गोप्य छलफल गरे । तीनवटै पार्टीका नेतालाई नक्सालस्थित होटेल टंगाल उडमा बोलाएका पारसले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका थिए ।

त्यस क्रममा उनले तीनवटा पार्टीबीच एकता प्रक्रियामा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेको सहभागी नेताहरूले जानकारी दिए ।

त्यसपछि उनले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एक हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

भेटवार्तामा राप्रपा प्रजातान्त्रिकका राजेन्द्र गुरुङ, सुरेश आचार्य, रवीन्द्रप्रताप शाह, विराज विष्ट, सगुनसुन्दर लावती, पंकज प्रधान र श्याम थापा सहभागी थिए । एकीकृत राप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, डा. सुष्मा आचार्य र डा केशव श्रेष्ठ तथा राप्रपाबाट सिर्जनारानी बर्मा, सुचित्रा घिमिरे, सहभागी थिए ।

राप्रपाका नेता जयन्त चन्द, भुवन पाठकलाई बोलाए पनि उनीहरू छलफलमा सहभागी नभएको पारसनिकट स्रोतले बतायो । भेटवार्तामा पारसले राष्ट्रवादी शक्ति बलियो बनाउन आवश्यक रहेको भन्दै एकजुट हुन सबैलाई सुझाब दिएका थिए ।

‘सबै युवा मिलेर राष्ट्रवादी शक्ति बलियो बनाउनुपर्छ । त्यसमा तपाईंहरूले विषेश ध्यान दिनुहोला,’ पारसले युवा नेतालाई यस्तो सुझाव दिएको सहभागी एक नेताले बताए ।

राप्रपा प्रजातान्त्रिकका नेता राजेन्द्र गुरुङले पूर्वयुवराज पारससँग उनकै निमन्त्रणमा पार्टी एकताबारे छलफल भएको बताए ।

प्रतिकृया दिनुहोस