राजनीतिक तहबाटै हिन्दुराष्ट्र पुनःस्थापना हुन्छ : थापा

Kamal thapa biratnagar

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्ने ठोकुवा गरेका छन् ।

अध्यक्ष थापाले नेपाल हिजो पनि हिन्दुराष्ट्र थियो, आज पनि छ र भोलि पनि रहने दावी पनि गरे ।

प्रदेश नंं १ स्तरीय ‘हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियानको विराटनगरमा शुभारम्भ गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएकोले नेपाली बीचको एकतालाई बलियो बनाउन हिन्दुराष्ट्र अपरिहार्य भएको बताए ।

उनले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताहरुले व्यक्तिगत स्वार्थ सिद्ध गर्न रातारात हिन्दुराष्ट्र हटाएर धर्म निरपेक्ष बनाइएको उनको आरोप छ ।

उनले राजनीतिक रुपबाट भएको परिवर्तनलाई राजनीतिक रुपबाटै परिवर्तन गर्न राप्रपाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको बताए । थापाले केन्द्रबाट सुरु भएको हिन्दुराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश, जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने बताए ।

कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख राजेन्द्र लिङदेनले सदियौंदेखि नेपालको पहिचानको रुपमा रहेको हिन्दुराष्ट्र पुनस्थापना गर्न पार्टीले सुरु गरेको आन्दोलनलाई साथ दिन सबैमा आग्रह गरे । उनले जनताको साथ र सहयोगले संवैधानिक बाटो बाट नै हिन्दुराष्ट्र पुनस्र्थापित हुने बताए ।

पार्टीका प्रदेश नं. १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उक्त प्रदेशका पार्टीका जिल्ला अध्यक्षहरु, प्रदेश अन्तर्गतका पार्टीका केन्द्रीय सदस्यहरु, धार्मीक गुरुहरुलगायत हिन्दुराष्ट्र समर्थक जनसमुदायको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस