वार्ता स्थलमै क्याम्पस तोडफोड !

Todfor

वीरगन्ज । वीरगन्जको ठाकुराम बहुमुखी क्याम्पसमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तोडफोड गरेका छन् ।

क्याम्पस प्रमुख परिवर्तन गर्नुपर्ने लगायत विभिन्न १४ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थी संगठन आवद्ध विद्यार्थीहरुले वार्ता स्थलमै तोडफोड गरेका हुन् ।

हालका क्याम्पस प्रमुखको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनसँग बिहान वार्ता राखिएको थियो । यसअघि भदौं ४ गते नै उनीहरुले क्याम्पस प्रमुख परिवर्तन गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत त्रिभुवन विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए भने क्याम्पसको लेखा र स्टोर शाखामा तालाबन्दी समेत गरेका थिए । ठाकुरराम बहुमुखी क्याम्पसमा व्यापक अनियमितता भएको भन्दै उनीहरुले उच्च स्तरीय छानविन समिति गठन गर्न माग समेत गरेका छन् ।

क्याम्पस प्रमुख प्रमोद कुशवाहले आक्रोशमा आएर वार्ता स्थलमै विद्यार्थीहरुले कुर्सी तोडफोड गरेको बताए । १५ वटा जति काठको कुर्सीमा क्षति पुगेको उनले बताए । क्याम्पस प्रशासनले आफूहरुको आन्दोलन र मागलाई वेवास्ता गरेका कारण समस्या उत्पन्न भएको अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ताले बताए ।

‘पहिला विभिन्न माग राखेर ज्ञापन पत्र बुझायौं, ७ दिनमा समस्या समाधान गर्ने आश्वासन पाएका थियौं, त्यो पुरा नभएपछि हामीले लेखा र स्टोर शाखामा तालाबन्दी गरेका थियौं’, उनले भने, ‘माग पूरा गर्नुको साटो लेखामा लगाएको ताल्चा तोड्ने काम भयो । वार्तामा पनि यो मान्दैनौं, त्यो मान्दैनौं भनेर अभद्र कुराहरु आए, त्यसपछि साथीहरु आक्रोशमा आएर तोडफोडमा उत्रिएका हुन् ।’

दुबै संगठनले क्याम्पस प्रमुखले पहिले भएका सहमती लागू नगरेको र क्याम्पसको प्राज्ञिक वातावरण बिग्रेको भन्दै क्याम्पस प्रमुख परिर्वतन गरी क्याम्पसलाई बचाउन माग गरेका छन् ।

प्रतिकृया दिनुहोस