दुरसञ्चार प्राधिकरणबाट फालिएका झालाई पुनः नियुक्तिको तयारी

Digambar jha

काठमाडौ‌ । काम गर्न नसकेको भन्दै बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झालाई पुनः अध्यक्षमा नियुक्त गर्न सिफारिस गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सिफारिस समितिले अन्य दुईजनासहित झालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार सचिवको संयोजकत्वमा रिक्त अध्यक्ष पद नियुक्ति गर्न बनेको सिफारिस समितिले झासहित पूर्वसचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई सिफारिस गरेको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रस्तावमा काम गर्न नसकेको भनेर सरकारले झालाई हटाइएको थियो । अहिले मन्त्री बाँस्कोटाकै जोडबलमा झालाई अध्यक्ष पदमा पुनः नियुक्त गर्न सिफारिस गरिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार झालाई अध्यक्ष पदमा पुनः नियुक्त गर्न यसअघि नै मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेका थिए ।

मन्त्रिपरिषद्मा छलफल हुँदा अध्यक्षजस्तो पदमा ठाडो नियुक्ति गर्दा राम्रो सन्देश नजाने भन्ने केही मन्त्रीको धारणा सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रिया मिलाएर ल्याउन निर्देशन दिएका थिए । त्यसपछि फेरि झाले प्रक्रियाबाटै नियुक्त हुन सिफारिस समितिमा निवेदन हालेको स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस