बलात्कारपछि हत्या गरिएकी किशोरीका बुबा भन्छन्, ‘प्रहरीले गरीबका पक्षमा कहिल्यै काम गर्दैन’

Rape skech

काठमाडौ‌ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा प्रहरलिे चासो नदिएको र घटना अन्यत्रै मोड्न प्रयास गरेको घटनाले राष्ट्रिय चासो पायो । तर, कञ्चनपुरकै यस्तै अर्को घटनामा पनि प्रहरीको उस्तै व्यवहार देखिएको छ ।

कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ ।

छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए। गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर, सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताए ।

‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटक–पटक आग्रह गर्‍यौँ, तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ,’ कर्णबहादुरले भने, ‘मदनकै बयानका आधारमा भरत बोहरा र नवराज महरा पक्राउ परे ।’

तर, प्रहरीले कुनै आधार नै नदेखाई पछि नवराज निर्दोष देखिएको भन्दै छाडेको कर्णबहादुरको भनाइ छ । ‘अहिले त झन् घटनालाई आत्महत्या बनाएर मदन र भरतलाई पनि छाड्ने तयारी गरिरहेका छन्। यसका पछाडि राजनीतिक दबाब छ भन्ने सुनेको छु । गरिबको पक्षमा प्रहरीले कहिल्यै काम गरेन,’ उनले भने ।

पक्राउपछि अभियुक्त मदनले नै ३१ असारमा किशोरीको शव गाडेको स्थान देखाएका थिए । कृष्णपुर नगरपालिका–२ वाणीका २१ वर्षीय मदन र २१ वर्षका भरतविरुद्ध २४ साउनमा अदालतमा मुद्दा दायर भएको थियो । २८ साउनमा पहिलो थुनछेक आदेशबाट मदन र भरत पुर्पक्षका लागि थुनामा छन् ।

कक्षा १२ मा अध्ययन गर्ने कविता २६ असारमा किताब किन्न भनेर घरबाट निस्केकी थिइन् । सोही दिनदेखि बेपत्ता कविताको ३१ असारमा कृष्णपुरकै लालझाडी जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानले कविताको हत्या २६ असारमै भएको झलारीका इन्चार्ज प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

कञ्चनपुरमा १५ दिनको अन्तरमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । यस वर्षको साउनमा मात्रै कञ्चनपुरमा बलात्कारका सात घटना भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...