महिला हिंसाका दोषी कसैलाई पनि छाडिन्नः मन्त्री थापा

Antar party sanjal

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसाका दोषी कसैलाई पनि नछाड्ने बताएका छन् । पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री थापाले महिला हिंसा रोक्न सरकार कडारुपमा प्रस्तुत हुने समेत बताए ।

महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा बुधबार गृहमन्त्रालय आएको टोलीलाई गृहमन्त्रीले महिला हिंसाका घटनालाई गम्भीरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए ।

गृहमन्त्री बादलले महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिए पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पारे ।

यस्ता घटनामा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारवाहीको प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिँदै उनले महिला हिंसाविरुद्ध मन्त्रालयले शुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह गरे ।

उनले भने, ‘‘अनियन्त्रित मदिराको बिक्रीवितरण र लागुपदार्थको सेवन तथा अन्य कारणले महिला हिंसाका घटना बढेका छन् । त्यसैले पहिला ती कारणको न्यूनीकरण गर्न जरुरी देखिएको छ ।’’

भेटमा गृहमन्त्री थापाले भने, ‘‘पहिले बलात्कार जस्ता जघन्य अपराधका घटना गोप्य राखिन्थ्यो, मिडियामा पनि बढी आउँदैन्थ्यो । तर अहिले मिडियामा बढी आउन थालेकोले घटना बढेको हुन् कि भन्ने जस्तो देखिएको हो ।’’

उनले कञ्चनपुरमा बालिकाको हत्याको विषयमा समेत मन्त्रालयले छानबिन समितिमार्फत छानबिन अघि बढाइसकेकोले केही दिनमै सत्यतथ्य आउने विश्वास व्यक्त गरे ।

महिला हिंसाविरुद्ध आवश्यकता अनुसार थप कठोर कानून बनाउन सकिने भन्दै गृहमन्त्री थापाले संसद्मा महिला सांसदबाट आएको सङ्कल्प प्रस्तावले पनि त्यसलाई सहयोग पुग्ने धारणा राखे ।

सञ्जालको टोलीले पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा भएका महिलाको बलात्कार, हत्यालगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई तत्काल कारवाहीको दायरमा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिकृया दिनुहोस