यि तीन घटनाः जसले प्रहरीप्रति जनविश्वास गुमायो

Police dig

 

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीले जनविश्वास गुमाउँदै गइरहेको घटनाक्रमले देखाएको छ । जनतासँग नजिक रहेर काम गर्नुपर्ने प्रहरी जनताको नजरमा अविश्वसनीय बन्नु निश्चय नै चिन्ताको विषय हो ।

पछिल्लो यि तीन घटना जसले देशकै ध्यानाकर्षण गरेका छन्, यी घटनाहरुमा प्रहरीको भूमिका अविश्वसनीय मात्रै होइन शंकास्पद समेत देखिएको छ।

संसद्मै उभिएर गृहमन्त्रीले १७ साउनमा भनेका थिए, ‘बलात्कारमा संलग्न दुईजना पक्राउ परिसके ।’ कहाँ हराए दुईजना? स्वयं गृहमन्त्रीले खोजेनन्।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो।

न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५औँ दिनमा गत सोमबार निर्मलाका बाबुआमालाई जिल्ला प्रहरी कार्यालय बोलाएको थियो।

दोषीका रूपमा प्रहरीले एकजना उभ्याएको थियो र उनीविरुद्ध किटानीजाहेरी दिन अभिभावकलाई दबाब दियो।

आफूले नचिनेको र घटनामा उनी संलग्न छन् कि छैनन् भन्ने जानकारीविना केका आधारमा किटानी जाहेरी दिने भन्ने अभिभावकको प्रश्न थियो । तर, प्रहरीले दिलीपसिंह विष्ट नाम गरेको ती युवा नै अपराधी भएको ठोकुवा गर्दै लिखित जाहेरी दिन बाबुआमालाई दबाब दियो।

‘ल ठीक छ त्यो मान्छे को हो? मलाई एकपटक भेट्न दिनुहोस्, म उसका कुरा सुन्छु र उसले अपराध स्वीकार ग–यो भने किटानी जाहेरी दिन्छु, बाँकी कारबाही तपाईं गर्नुहोला भनेर मैले बिन्ती पनि गरेँ, तर प्रहरी सरहरूले मान्नुभएन। किटानी जाहेरी दिनूस् भनेर एकोहोरो जिद्दी गर्नुभयो,’ निर्मलाका बुबा एकराज पन्तको भनाइ छ।

आफूले चिन्दै नचिनेको मान्छेको नाममा किटानी जाहेरी दिन नमानेपछि अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले आफूलाई मानसिक यातना दिएको उनको गुनासो छ।

प्रहरीले विष्ट दोषी हुन् भन्ने लेख्न लगाएर अनुसन्धानको जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् जसले कञ्चनपुर तनावग्रस्त छ ।

प्रहरीको अनुसन्धानमा स्थानीयलाई किन विश्वास छैन भने आरोपी विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन्। बाटोमा निर्मलाको साइकल बिग्रिएको र बनाइदिने भन्दै दिलीपले उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ।

तर, मानसिक सन्तुलन बिग्रिएका युवाले भन्दैमा निर्मला पछिपछि गइन् होला भन्नेमा स्थानीयलाई विश्वास छैन। त्यस्तै, आफै पनि शारीरिक रूपमा जीर्ण देखिने दिलीपले निर्मलालाई एक्लै उखुबारीमा लगेर बलात्कार गर्न सके भन्ने दाबी पनि भरपर्दो मानिएको छैन।

निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो
१५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो । तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो।

छानबिनको २० दिन बितिसक्दा पनि समितिले कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन । प्रहरीको अनुसन्धान अपुरो हुँदा घटना नै वास्तविक होइन कि भन्ने सन्देह पैदा भएको छ।

र, घटना वास्तविक नै हो भने र सार्वभौम संसद्को सदस्य तथा सत्तारुढ दलको नेतालाई राजधानीमै कसैले कन्चटमा पेस्तोल ताक्छ र दोषी पक्राउ पर्दैन भने सर्वसाधारणको सुरक्षा पक्कै पनि संकटमा छ ।

नियन्त्रणमा लिइएका आरोपीबाट थप अनुसन्धानको साटो नक्कली मुठभेडबाट अनुसन्धान समाप्त

२० साउनमा काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपहरणमा परे । २१ साउन बिहान ११ बजे उनको शव मध्यपुर ठिमी–७ बगदेश्वरस्थित एउटा बन्दै गरेको घरको पछाडि खाडलमा पुरिएको अवस्थामा भेटियो ।

अपहरणमा संलग्न गोपाल तामाङ र अजय तामाङको दिउँसो १ बजे भक्तपुरको पाइलट बाबा जंगलमा इन्काउन्टरमा मारिएको प्रहरीको विज्ञप्ति आयो । तर, स्थानीयले त्यसमाथि विश्वास गरेनन् ।

नियन्त्रणमा लिइसकेका अपहरणकारीसँग प्रहरीको कसरी मुठभेड भयो?

प्रतिकृया दिनुहोस