साझाका पूर्व कर्मचारीहरुले मागे महाप्रवन्धक शर्माको राजीनामा

Rajinama ko magjpg

काठमाडौं । पुनर्वहालीको मुख्य मागसहित आन्दोलन गर्दै आएका साझा प्रकाशनका पूर्व कर्मचारीहरुले महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माको राजीनामा माग गरेका छन् । पूर्व कर्मचारीहरुले आफूहरुलाई स्वेच्छिक अवकाश दिने बेलामा गरिएको सर्त अनुसारको सेवा तथा सुविधा नदिएको भन्दै मंगलबार साझाका महाप्रबन्धक शर्माको राजीनामा माग गरेका हुन् ।

पूर्व कर्मचारीहरुले उपदानसहितको सेवा सुविधा नदिएकै कारण आफूहरु समस्यामा परेको गुनासो पनि गरेका छन् । आफूहरुको सेवा र सुविधा उपलब्ध गराउन नसकेको भन्दै पूर्व कर्मचारी सतिस मजगैयाले महाप्रबन्धक शर्माको राजीनामा माग गरे।

उनले महाप्रबन्धक शर्माले आफन्त र राजनीतिक पहुँचका आधारमा नयाँ कर्मचारी करारमा राखेको भन्दै आक्रोश पनि व्यक्त गरे। अर्का पूर्व कर्मचारी अतिसमान श्रेष्ठले उपदानसहितको सेवा र सुविधा दिने सर्त पालना नगरेपछि आफूहरु मारमा परेको गुनासो गरे ।

यता, महाप्रबन्धक शर्माले भने अवकाश प्राप्त पूर्व कर्मचारीहरुलाई उपदानका लागि सम्बन्धित मन्त्रालयसँग पहल भईरहेको बताए। उनले आफूले ६३ करोड ऋणमा डुबेको साझालाई जोगाएको दावी गर्दै आफ्नो राजीनामा माग गर्नुको कारण पुष्टि गरेर देखाउन चुनौति पनि दिए।

कर्मचारीहरु असार ३२ गते देखि दैनिक कार्यालय समयमा साझा प्रकाशन परिसरमा धर्ना बस्दै आएका छन्। साझा प्रकाशनका अधिकृत स्तरका २२ जना, सहायक स्तरका ६९ जना गरी १ सय २८ जना कर्मचारीले स्वेच्छिक अवकास लिएका थिए। साझाले अवकास प्राप्त कर्मचारीहरुको उपदान बापत १७ करोड बराबरको रुपैयाँ दिन बाँकी छ।

उपदानलगायत सेवा सुविधाको माग गर्दै पूर्व कर्मचारीहरुले साझा प्रकाशनमा धर्ना दिएको मंगलबार ३६ दिन पुगेको छ। उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म धर्नालगायतका आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन्।

प्रतिकृया दिनुहोस